काठमाडौं, ५ असोज । आइतबारबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सकिँदैछ। सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो।दसैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र मधेसमा वर्षा भएको देखिएको छैन। मौसमविद् विनोद पोखरेलले घटस्थापनादेखि फूलपातीसम्म (एकहप्ता) मनसुन त्यति सक्रिय हुने सम्भावना देखेका छैनन्। यद्यपि साँझ तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने छ। ‘भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,’ उहाँले भन्नुभएको छ। फूलपातीदेखि दसैंको टीकासम्म भने मौसम फेरि सक्रिय हुने सम्भावना देखिएको छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना रहेको उहाँले बताउनुभयो । ‘अर्को हप्ता दसैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना धेरै रहेको छ,’ उहाँले प्रक्षेपण गर्नुभएको छ। विभिन्न मोडलहरूको अध्ययनमार्फत् उहाँले यो विश्लेषण गर्नुभएको हो । मौसमविद्ले यसपटक मनसुन बाहिर समय लाग्ने पनि प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो। यसपटक सरदरभन्दा १५ (जेठ १५) दिन अगावै मनसुन भित्रिए पनि अझै दुई हप्तापछि मात्रै मनसुन बाहिरिने उनीहरूले प्रारम्भिक आकलन गरेका छन्।
यसपालि हिले दसैं हुने सम्भावना छ–मौसमविद्













प्रतिक्रिया दिनुहोस्