सिरहा, असोज ७ । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षिय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । असोज ५ गते रातिदेखि बेपत्ता रहेका उनको शव असोज आज बिहान ६ बजे घरनजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।
शव आधा जलेको अवस्थामा भेटिएको छ भने शरीरभर कुटपिट गरेको दाग देखिएका छन् । प्रहरीले घटनास्थल सिलबन्दी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।
अभिषेकका घरपरिवारले रातभर खोज्दा नभेटेपछि असोज ६ गते बिहान इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए । त्यसै दिन बिहान करिब ८ बजे अभिषेककै इमो आईडीबाट उनकी आमाको इमो आईडीमा ५ करोड रुपैँया फिरौती दिनुपर्ने धम्कीपूर्ण सन्देश आएको थियो ।
फिरौती माग गरिएको सन्देशमा रकम अंक र अक्षर दुवैमा उल्लेख गरिएको थियो । यसपछि उनकाे अपहरण भएको पक्का भएको थियो ।
अभिषेकका बुबा सञ्जय सिंहको करिब सात वर्षअघि करेण्ट लागेर मृत्यु भएको थियो । आमाबुबाको एक्लो सन्तान अभिषेक हाल आमा, हजुरआमा र हजुरबुवासँगै गोलबजारमै बस्दै आएका थिए ।
प्रहरीले यसलाई योजनाबद्ध अपराध भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्