रामेछाप, असोज ११ । गत वर्ष असोजमा आएको रोसी र सुनकोसी नदीको बाढीले लुभुघाटस्थित पक्की पुल बगाएपछि समस्या झेल्दै आएका रामेछापवासीलाई अस्थायी डाइभर्सन बनेपछि आवागमन सहज भएको छ।
सिन्धुलीको नेपालथोकस्थित रोसी खोलामा अस्थायी कलभर्ट डाइभर्सन निर्माण भएसँगै बिपी राजमार्गबाट काभ्रेको तेमाल हुँदै सुनकोसी नदीको सिन्दुरेटार पुग्ने बाटो खुलेको हो। सिन्दुरेटारको पक्की पुल प्रयोग गरी रामेछाप प्रवेश गर्न सकिने भएपछि सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका स्थानीयलाई काठमाडौं आउजाउ गर्न सजिलो भएको छ।
स्थानीय राज मैनालीका अनुसार पुल बगाएपछि यहाँका बासिन्दालाई खाँडादेवीस्थित सित्खाको पुल घुमेर आउनु पर्ने बाध्यता थियो । जसका कारण नियमित यात्रु र बिरामीलाई दुई घण्टा बढी समय खर्चिनुपर्ने अवस्था थियो।

सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले हेर्दा सानो काम जस्तो लागे पनि डाइभर्सन बनेपछि यस भेगका मानिसलाई कम्तीमा नौ महिनासम्म काठमाडौं आउजाउ गर्न सहज भएको बताउनुभयो। ‘यसले सामान्य यात्रु मात्र होइन, गम्भीर बिरामीको ज्यान बचाउन पनि सहयोग गर्नेछ।’
दशैंको बेला छोटो बाटो बनेसँगै घर फर्किने स्थानीयलाई पनि सहज भएको छ। बाटो केही साँघुरो र जोखिमपूर्ण भएकाले यात्रामा सजगता अपनाउन सुनापति गाउँपालिका- ४ का वडाध्यक्ष डुण्डुप लामाले आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्