जनता टाइम्स

१२ आश्विन २०८२, आईतवार १०:४२

बडा दशैंको अवसरमा मन्थली बजार सरसफाइ 


रामेछाप, असोज १२। बडा दशैं २०८२ को पावन अवसरमा मन्थली बजार क्षेत्रमा सरसफाइ अभियान सम्पन्न भएको छ। मन्थली नगरपालिकाकाे दमकल प्रयोग गरी सञ्चालन गरिको सरसफाइ अभियानमा स्थानीयकाे पनि सहभागिता थियाे।

सडक पेटी निर्माणका क्रममा थुपारिएका ढुंगा माटो, बालुवा र अन्य निर्माण सामग्रीका कारण बजार क्षेत्र लामो समयदेखि अस्तव्यस्त देखिएको थियो। ती सामग्रीका कारण पैदल यात्रीलाई आवतजावत गर्न असहज हुनुका साथै बजार परिसर फोहर बनेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए। सरसफाइ अभियानमार्फत ती सामग्री हटाइएपछि बजार क्षेत्र सफा, आकर्षक र व्यवस्थित देखिएको छ।

बजार क्षेत्रमा सरसफाइ भएपछि व्यवसायमा समेत सकारात्मक प्रभाव परेको व्यापारीहरूले बताएका छन्। चाडपर्वको समयमा किनमेल गर्ने भीड बढ्ने भएकाले सफा र व्यवस्थित वातावरणले ग्राहकलाई सहज महसुस गराउने उनीहरूको भनाइ छ। पर्यटक आवागमनको सिजन सुरु भइसकेको अवस्थामा गरिएको सरसफाइ अभियानले पर्यटकमैत्री वातावरण निर्माणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीयले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले बजारलाई चाडपर्वका दिन मात्र नभई वर्षभर सफा र व्यवस्थित राख्न आवश्यक रहेकाे बताएका छन् । सरसफाइ अभियानले मन्थली बजारलाई अझ व्यवस्थित, सुन्दर र पर्यटकमैत्री बनाउन दीर्घकालीन सहयोग गर्ने विश्वास लिइएको छ।