रामेछाप, असोज १२। दैनिक चार हजारभन्दा बढी साना–ठूला सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडपर्व लक्षित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। दशैं–तिहार र छठजस्ता ठुलो चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाल स्काउटको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम सिन्धुली जिल्लाको नेपालथोकमा गरिएको थियो। सो अवसरमा सवारी चालक र यात्रुलाई पर्चा वितरण, सुरक्षा सन्देश, सडक प्रयोगको शिष्टाचार र ट्राफिक नियम पालनाबारे प्रत्यक्ष मौखिक सचेतना दिइएको थियो।
नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले यात्रुको सुरक्षाका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘दुर्घटना न्यूनीकरण हाम्रो साझा जिम्मेवारी हो। चालक र यात्रु दुवै सचेत भए सडक दुर्घटना घटाउन सकिन्छ।’

त्यस्तै, प्रहरी चौकी दुम्जा, सिन्धुलीका प्रहरी सहायक निरीक्षक मनोज थापाले चाडपर्व लक्षित सडक सुरक्षा योजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘चालकले गति नियन्त्रण गर्नुपर्छ, मादक पदार्थ सेवन गर्न नहुने, सीट बेल्ट लगाउनुपर्ने र यात्रुलाई जिम्मेवारीपूर्वक गन्तव्यमा पुर्याउनुपर्छ भन्ने सन्देश हामी निरन्तर दिइरहेका छौँ।’
अस्थायी ट्राफिक प्रहरी पोष्ट दुम्जाका इञ्चार्ज वरिष्ठ हवलदार पशुपति फुयाँलले राजमार्गमा सुरक्षित यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी निरन्तर सडकमा उपस्थित छौँ, चालकलाई यात्रुहरूसँग राम्रो व्यवहार गर्न सम्झाइरहेका छौँ, अहिले राजमार्गमा ठुलो समस्या छैन, सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन्।’
बिपी राजमार्ग काठमाडौं र पूर्वी नेपाललाई जोड्ने महत्त्वपूर्ण मार्ग हो। चाडपर्वका बेला यात्रु चाप अस्वाभाविक रूपमा बढ्ने भएकाले यस क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढ्ने गर्छ। यसलाई ध्यानमा राखेर प्रहरीले सचेतना अभियानलाई प्राथमिकतामा राखेको हो।













प्रतिक्रिया दिनुहोस्