दोलखा, असोज १८ । दोलखाको सहरेस्थित खिम्ती खोलाको किनारमा रहेको ऐतिहासिक जालपादेवी मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ।
दोलखा र रामेछापको सिमानामा पर्ने खिम्ती खोला र तामाकोशी नदीको दोभानमा अवस्थित यो मन्दिरलाई शक्तिकी देवीको रूपमा मानिन्छ। स्थानीय बासिन्दाका अनुसार जालपादेवी मन्दिर निकै पुरानो धार्मिक तथा सांस्कृतिक सम्पदा हो, तर यसको ऐतिहासिक महत्वबारे बाहिर पर्याप्त जानकारी नहुँदा आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न सकेका छैनन्।

विशेष पर्व र चाडपर्वका अवसरमा यहाँ मेला लाग्ने परम्परा रहिआएको छ। मन्दिरमा भक्तजनहरूले पाठी र परेवाको बली चढाउने चलन रहँदै आएको छ। मन्दिरमा चढाइएको बलि यहीँ पकाएर खाने र महिनावारी भइसकेका महिलाले प्रसादी नखाने धार्मिक मान्यता समेत रहँदै आएको छ।
स्थानीय बासिन्दाका अनुसार विगतमा मेला निकै भव्य रूपमा लाग्ने गरेको भए पनि एक पटकको मेलामा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भएपछि मेला परम्परा बिस्तारै हराउँदै गएको हो। अहिले त्यस्ता मेलाका अवसरमा केही भक्तजन मात्र बत्ती बाल्न जाने गर्छन्।

मन्दिरको संरक्षणका लागि हाल खिम्ती खोलामा तटबन्ध निर्माण गरिएको छ। साथै मन्दिर पुग्ने बाटोमा सिँढी बनाइएको र मन्दिर परिसरमा कम्पाउण्ड पनि पुनर्निर्माण गरिएको छ ।
तर, धार्मिक र पर्यटकीय दृष्टिले महत्व बोकेको यो मन्दिरबारे सम्बन्धित निकायको ध्यान नपुगेकाले प्रचार अभावमा सीमित क्षेत्रका स्थानीयको मात्र आस्थाको केन्द्र बनेको छ। मन्दिरको संरचना राम्रो बने पनि यसको प्रचार र पर्यटन विकासमा कसैको ध्यान पुगेको छैन।













प्रतिक्रिया दिनुहोस्