हेटौँडा, असोज १८। वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भारी वर्षा जारी रहेकाेले हुनसक्ने सम्भावित स्वास्थ्य समस्यालाई ध्यानमा राखी आइतबारबाट नै स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले शनिबार सूचना जारी गरी केन्द्र सरकारले आइतबार र साेमबार सार्वजनिक बिदा घोषणा गरे पनि प्रदेश मातहतका स्वास्थ्य संस्था खुल्ला रहने जनाएको छ । प्रदेश सचिव डा. सुमित्रा गौतमले हस्ताक्षर गर्नुभएको सूचनामा भनिएको छ, ‘नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूले निरन्तर सेवा प्रवाह गर्नुपर्नेछ, स्वास्थ्य क्षेत्र पनि सो अन्तर्गत पर्ने भएकाले असोज १९ र २० गते सार्वजनिक बिदा भए पनि सेवा निरन्तर रहन्छ।’
मन्त्रालयले सबै मातहतका स्वास्थ्य संस्था र कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार वाग्मतीसहित देशभरकै विभिन्न जिल्लामा ठुलो वर्षा हुने अनुमान गरिएको छ। यसका कारण पहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भन्दै स्वास्थ्य सेवाको अवरोध नहोस् भन्ने उद्देश्यले तयारी अवस्थामा रहन भनिएको हो।
मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरूलाई विपद् पूर्व तयारी र प्रतिकार्यमा सक्रिय रूपमा जुट्न अनुरोध गरेको छ। साथै, आपतकालीन अवस्थाका लागि आवश्यक औषधि, उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। सूचनामा भनिएको छ, ‘सर्वसाधारणले उपचार पाउन समस्या नहोस् भनेर सबै स्वास्थ्य कार्यालयहरूले आफ्नै स्तरबाट सेवा उपलब्ध गराउन वा आवश्यक परेमा विशेषज्ञ तथा विशिष्ट अस्पतालहरूमा पठाउन सहजीकरण गर्नुपर्नेछ।’
त्यस्तै, प्रदेशका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहका स्वास्थ्य शाखाहरूमा आपत्कालीन चिकित्सकीय समूह (EMT) र द्रुत प्रतिकार्य टोली (RRT) लाई चुस्त-दुरुस्त तयारी अवस्थामा राख्न भनिएको छ। मन्त्रालयले सबै कार्यालयहरूलाई आवश्यक लजिष्टिक व्यवस्थापन सुनिश्चित गर्न पनि निर्देशन दिएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका जिल्लाहरू-काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुली, दोलखा, रसुवा, नुवाकोट, धादिङ, र रामेछापमा वर्षाजन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन, स्वास्थ्य संस्था र नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्