जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १३:५४

अखिलका नेता राई जेल चलान


काठमाडौं, मंसिर ६ । एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनेरास्वबियूका तात्कालिन केन्द्रीय सदस्य इन्द्रहाङ राई जेल चलान भएका छन । बौद्धमा देउसी भैलो खेल्न भनी बोलाएर आफन्तको कोठामा लगी बलात्कार गरेको अभियोग लागेका राईलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

राईले १८ वर्षीया युवतीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि कात्तिक १२ गते राईलाई पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले बिहिबार थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईले जवरजस्तीकरणी उद्योग गरेको निश्कर्षसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेश अनुसार राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको प्रहरीले जनाएको छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्ब्यवहारमा पक्राउ परेपछि दुवै पदबाट मुक्त गरिएको छ । राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेका थिए । पीडित युवतीले राईले तीन घन्टासम्म लगातार आफूमाथि बलात्कार गरेको र अन्तिममा मार्न खोजेपछि कसैलाई नभन्ने बताएर आफू बाहिरिएको बयान दिएकी थिइन ।