जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार ०७:२९

इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा ‘हस्ताक्षर’ भएको ट्रम्पको घोषणा


काठमाडौं, असाेज २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेको घोषणा गर्नुभएकाे छ ।

ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भन्नुभएकाे छ, “यसको अर्थ सबै बन्धकहरू धेरै छिट्टै रिहा हुने भन्ने हो भने इजरायलले आफ्ना सेनाहरूलाई सहमति अनुसार फिर्ता लैजानेछ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई इजरायलका लागि ठूलो दिन भएको बताउनुभएकाे छ । यसलाई अनुमोदन गर्न बिहीबार (आज) सरकारको बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघले यस सम्झौताको पूर्ण कार्यान्वयनका लागि समर्थन गर्ने बताउनुभएकाे छ । उहाँले गाजामा मानवीय सहायताको वितरण बढाउने र पुनर्निर्माण प्रयासहरूलाई अघि बढाउने प्रतिबद्धता जनाउनु भएकाे छ ।

गुटेरेसले सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पालना गर्न आग्रह गर्नु भएकाे छ । सम्झौतामा इजरायली बन्धकहरूको रिहाइ, स्थायी युद्धविरामको पालना र गाजामा तुरुन्तै मानवीय आपूर्तिहरूलाई अनुमति दिने समावेश छन् ।

उहाँले भन्नुभयाे, “यो पीडाको अन्त्य हुनै पर्छ,” गुटेरेसले थपे, “म सबै सरोकारवालाहरूलाई कब्जा अन्त्य गर्न, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिन र इजरायली तथा प्यालेस्टिनी दुवैलाई शान्ति र सुरक्षामा बाँच्न सक्षम बनाउन दुई–राज्य समाधानतर्फको एक विश्वसनीय राजनीतिक बाटो स्थापना गर्न यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न आग्रह गर्दछु ।”

एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार, इजरायली सरकारबाट अनुमोदन भएपछि जेरुसेलमको समयअनुसार दिउँसो करिब २ बजेबाट तत्काल युद्धविराम लागु हुनेछ ।

उहाँका अनुसार इजरायलले पहिलो पाँच दिनको अवधिमा दैनिक ४०० सहायता ट्रकहरूलाई गाजामा प्रवेश गर्न दिनेछ । पछिल्ला चरणहरूमा यो संख्या क्रमशः बढाइने बताइएकाे छ ।

हमासले सम्झौताको पुष्टि गरेको र ट्रम्प तथा संलग्न देशहरूलाई इजरायललाई सम्झौतालाई पूर्णरूपमा पालना गर्न बाध्य पार्न आग्रह गरिरहेको छ ।

इजिप्टमा भएको यो वार्ता, इजरायलले ७ अक्टोबर २०२३ को हमलाको जवाफमा गाजामा सैन्य अभियान सुरु गरेको दुई वर्ष र दुई दिनपछि सम्पन्न भएको हो । उक्त हमलामा हमास नेतृत्वका बन्दुकधारीहरूले करिब १२ सय मानिसको ज्यान लिएका थिए । २५१ जनालाई बन्धक बनाएका थिए ।

गजाको स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसबेलादेखि गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार १८३ मानिस मारिएका छन् । २० हजार १७९ बालबालिका रहेका छन् । बीबीसी