जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार ०८:४१

बिभत्स हत्यापछि मृतकको टाउको बोकेर मध्यराती प्रहरी चौकी पुगे २ अभियुक्त


कैलाली, असोज २५ । कैलालीको घोडाघोडीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएको र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । टाउको बिनाको शरीर घटनास्थल मै रहेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा टाउकोसहित आइपुगेको बताउनु भयो ।

प्रहरीका अनुसार, मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका हुन ।