सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै प्रदेश सरकारका काम–कारबाहीलाई त्यसै अनुरूप अघि बढाउन सचिवहरूलाई निर्देशन दिनुभएको छ।
भदौ २३ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँगको समन्वय बैठक बसेको थियो।
बैठकमा मुख्यमन्त्री कँडेलले युवापुस्ताले देखाएको सुधार र पारदर्शिताको आकाङ्क्षा अब सरकारी कामको दिशा–निर्देशक बन्नुपर्ने बताउनुभयो । ‘जेनजी पुस्ताले उठाएका मागहरू राज्य सुधारका सङ्केत हुन्, अब ती मागलाई व्यवहारमा रूपान्तरण गर्नु सरकारको जिम्मेवारी हो’, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री कँडेलले जनताले अहिले सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र सहजताको अपेक्षा गरिरहेको उल्लेख गर्दै प्रत्येक नागरिकले सुधारको प्रत्यक्ष अनुभूति गर्न पाउने गरी प्रशासन चलाउन निर्देशन दिनुभयो । ‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’ उहाँले भन्नुभयो ।
विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाउनुपर्ने बताउँदै मुख्यमन्त्रीले हिजोका गल्ती सुधार्ने उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । ‘सरकारको प्राथमिकता अब खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुन्छ’, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री कँडेलले संघीय सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी खर्च कटौती र संयमित प्रशासनिक अभ्यास गर्न निर्देशन दिनुभयो। उहाँले तालिम, भ्रमण, गोष्ठी तथा अनावश्यक योजनाबाट हुने खर्च कटौती गर्न सचिवहरूलाई प्रस्ताव तयार गर्न आग्रह गर्नुभयो । ‘फजुल खर्च रोक्ने नीति ल्याउनुस्, त्यसका लागि मन्त्रालयस्तरमै पहल गर्नुस्, प्रत्येक कार्यालयमा देखिने ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्नै पर्छ’, उहाँले भन्नुभयो ।
कँडेलले सेवा प्रवाहमा सरलता ल्याउने, ढिलाइ संस्कृतिलाई अन्त्य गर्ने र जनतामुखी प्रशासनिक सुधारलाई प्राथमिकता दिने नीति अघि सार्ने प्रतिबद्धता पनि दोहोर्याउनु ।













प्रतिक्रिया दिनुहोस्