जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०९:४६

महाराष्ट्रमा मोदी जादू : एनसिपीसँग मिलेर बनाए रातारात सरकार


काठमाडौं, मंसिर ७

भारतको महाराष्ट्रमा एक महिनाको रस्साकस्सीका बीचमा भारतीय जनता पार्टीले सरकार गठन गरेको छ । गएराति राजनीतिक घटनाक्रमले नाटकीय रुप लिएपछि भाजपाले आज विहानै सरकार गठन गरेको हो ।

शरद पावरको पार्टी एनसिपीलाई साथमा लिएर भाजपाका विधायक दलका नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्रीको सपथ लिएका छन् । राज्यपाल कोशियारीले फडणवीसलाई आज विहान सपथ गराउनु भएको हो । देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बन्न सफल हुनु भएको छ ।

एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको शपथ लिनु भएको छ । शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको बताइएको थियो । तर, एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएपछि सरकार बनाउन सफल भएको हो ।

तीन पार्टीबीच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो । तर रातभरमा घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा शपथ लिए । हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।

यसैबीच, एनसिपीका अध्यक्ष शरद पावरले यो निर्णय पार्टीको नभएको बताउनु भएको छ । यद्यपी उनका भतिजा अजितले २२ विधायकको समर्थक लिएर आएपछि सरकार गठन भएको हो । २८८ सिट रहेको महाराष्ट्रमा सरकार बनाउन १४५ सिट हुनुपर्छ । जहा भाजपाको १०५ र एनसिपीको ५४ सिट रहेको छ । भाजपालाई साना १० निर्दलिय विधायकको पनि समर्थन रहेको छ ।