जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार ०७:०८

अमेरिका र चीनबीच व्यापार सम्झौतामा प्रारम्भिक सहमति


काठमाडौं,  कात्तिक १० ।  अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ । बीबीसीका अनुसार दुवै देशले एक प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन् । जसको अन्तिम रूप राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच हुने आउँदो भेटमा तय गरिनेछ ।मलेसियामा भएको प्रारम्भिक सम्झौताअनुसार चीनले दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाइ गर्ने योजना एक वर्षका लागि स्थगन गर्ने भएको छ, जसले विश्वभरका प्रविधि र विद्युतीय उद्योगलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । यससँगै अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा घोषणा गरेको सय प्रतिशत भन्सार तत्काल लागू नगर्ने संकेत दिएको खबरमा उल्लेख छ ।

कृषि क्षेत्रमा पनि प्रगति भएको छ । चीनले अमेरिकी सोयाबीन खरिद फेरि शुरू गर्ने तयारी गरेको छ । त्यसैगरी, विवादास्पद भिडियो–सेयरिङ्ग प्लेटफर्म टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी विषयमा पनि दुवै पक्षबीच प्रारम्भिक सहमति भएको छ । ट्रम्प र सीको भेटमा यो सम्झौताको अन्तिम घोषणा हुने अपेक्षा गरिएको छ ।दुवै देशले अहिलेको कदमहरूलाई व्यापार युद्धको तनाव कम गर्ने अवसरका रूपमा लिएका छन् । यद्यपि अन्तिम सम्झौता भने अझै औपचारिक रूपमा सम्पन्न हुन बाँकी छ । एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नुहुनेछ । विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि चिनियाँ राष्ट्रपति सीसँग दक्षिण कोरियामा हुने भेटलाई ट्रम्पले ‘निर्णायक क्षण’ भन्नुभएको छ ।