जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १३:३३

नेपाल विद्युत् प्राधिकरण र उद्योगीको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता विवाद संवादबाट टुङ्ग्याउनु पर्छ : चेतनारायण आचार्य


बुटवल, कात्तिक १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएपछि उत्पन्न विवाद वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गर्नुभएको छ।

नेपाल विद्युत् प्राधिकरणले तिर्न बाँकी रकम असुलीका लागि विभिन्न उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा उत्पादन ठप्प हुन पुगेको र सयौँ श्रमिक रोजगारीविहीन बनेको प्रदेश सरकारको बुझाइ छ।

मुख्यमन्त्री आचार्यले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संघीय सरकारले ‘अभिभावकको भूमिका’ निभाउँदै नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबिच सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। ‘उद्योग व्यवसायमा विश्वास पुनर्स्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्न जरुरी छ,’ विज्ञप्तिमा मुख्यमन्त्री आचार्यले भन्नु भएको छ ।

उहाँले उद्योगको निरन्तर सञ्चालन प्रदेशको आर्थिक स्थायित्व र रोजगार संरक्षणसँग जोडिएको भन्दै प्रदेश सरकारले वार्ता र सहकार्यको वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।