जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १४:१६

आगजनी र लुटपाटको अध्ययन निष्पक्ष हुनुपर्छ,  अपराधलाई राजनीति भनेर ढाकछोप गर्नु हुन्न :  यामलाल कँडेल


सुर्खेत, कात्तिक १२। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ गते भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गर्नुभएको छ।

बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग भेटका क्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनको नाममा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिको निष्पक्ष अध्ययन गरी सत्य तथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिनुभयो। उहाँले विगतका राजनीतिक आन्दोलनहरूमा जनआन्दोलन भए पनि नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना कहिल्यै नभएको स्मरण गर्दै यस्ता आपराधिक कार्यलाई राजनीतिक आवरणमा ढाकछोप गर्न नहुने बताउनुभयो। “अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “त्यो अवस्थामा नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ।”

उहाँले अपराधजन्य कार्यमा संलग्न जो–कोही भए पनि कानुन अनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्य तथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिनेछ।

जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा अध्ययन गरिने बताउनुभयो। उहाँले व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभई आपराधिक भएको स्पष्ट गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएका आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाणहरू सङ्कलन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, घटनामा संलग्न व्यक्तिहरूको पहिचान अन्तिम चरणमा पुगेको छ र केही दिनभित्र कानुनी कारबाही अगाडि बढाइनेछ।