विराटनगर, कात्तिक १४। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र बिच उत्पन्न विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गर्नुभएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन र रोजगारीमा प्रत्यक्ष असर परेको भन्दै यस्तो समस्या पारस्परिक संवादबाट टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार, उद्योग बन्द हुँदा केवल आर्थिक क्रियाकलाप मात्र अवरुद्ध हुने होइन, श्रमिक वर्गको जीविकोपार्जनमा पनि गम्भीर प्रभाव पर्छ।
मुख्यमन्त्री कार्कीले नेपालमा आर्थिक सुधारका सङ्केत देखिँदै गरेको अवस्थामा गत भदौ २३ र २४ गतेका विरोध प्रदर्शनले निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार क्षेत्रमा भएको तोडफोड र आगजनीले लगानीकर्तामा असुरक्षा र निराशाको भावना सिर्जना गरेको बताउनुभयो। उहाँले यस्तो अवस्था दोहोरिन नदिन राज्य, निजी क्षेत्र र सरोकारवालाबिच विश्वास र सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। ‘निजी क्षेत्र र सरकारबिच लामो समयसम्म असमझदारी रहनु दुःखद् हो,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘यसको बहुआयामिक असर अर्थतन्त्रमा पर्ने भएकाले तत्काल उपयुक्त निकास खोज्न आवश्यक छ।’
उहाँले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण स्तम्भका रूपमा व्याख्या गर्दै राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा बल दिनुभयो। मुख्यमन्त्री कार्कीको भनाइमा, उत्पादनशील उद्योग सञ्चालनमा आएको अवरोध हटाई प्रदेशमा लगानीमैत्री र सुरक्षित वातावरण निर्माण गर्नु अहिलेको प्राथमिक जिम्मेवारी हो।














प्रतिक्रिया दिनुहोस्