जनता टाइम्स

१७ कार्तिक २०८२, सोमबार १२:१३

सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने घोषणा गर्दै घ्याङ्लेखका अध्यक्ष भोलनद्वारा गाडी फिर्ता


सिन्धुली, कात्तिक १७। सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गर्नु भएकाे छ। अब उक्त गाडी कार्यालयका नियमित कामकाज र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने भएको छ।

अध्यक्ष भोलनले गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भन्दै आफैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्ने निर्णय लिनुभएको हो। उहाँले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेख्नुभएको पत्रमा उल्लेख छ-‘गाउँपालिकाको नाममा दर्ता रहेको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो गाडी कार्यालय कामको प्रयोजनका लागि मैले प्रयोग गरिरहेकोमा हाल मुलुकमा आएको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयको मातहतमा राखी कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागि मात्र प्रयोग गर्ने गरी आजको मितिबाट फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ।’

भोलनले सरकारी साधनको दुरुपयोग रोक्दै जनसेवामुखी कार्यशैलीलाई सुदृढ बनाउने उद्देश्यले यस्तो निर्णय लिएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले राज्यका स्रोत र साधनलाई व्यक्तिगत सुविधा होइन, जनताको सेवाका माध्यमका रूपमा उपयोग गर्नुपर्ने समय आएको छ।

नेपालका धेरै स्थानीय तहहरूमा प्रमुख तथा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएका सरकारी गाडीहरू व्यक्तिगत, पारिवारिक र निजी प्रयोजनमा दुरुपयोग गर्ने प्रवृत्ति सर्वसाधारणको आलोचनाको विषय बन्दै आएको छ। चाडपर्वका समयमा टीका लगाउन, जन्ती जान, निजी भ्रमण वा घरायसी प्रयोजनमा प्रयोग हुने यस्ता गाडीहरूमा रोक लगाउने नीति बने पनि व्यवहारमा लागू हुन नसकेको तथ्य उजागर हुँदै आएको छ।

त्यस पृष्ठभूमिमा अध्यक्ष भोलनको निर्णयलाई स्थानीय नागरिक र सरोकारवाला पक्षले सकारात्मक प्रशासनिक अभ्यास र सुशासनको उदाहरणका रूपमा लिएका छन्। घ्याङ्लेख गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि उहाँको निर्णयले अन्य पालिकाका प्रमुखहरूलाई पारदर्शिता र जिम्मेवारीका अभ्यासमा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सिन्धुली जिल्लाको उत्तरी भागमा अवस्थित घ्याङ्लेख गाउँपालिका भौगोलिक रूपमा दुर्गम मानिन्छ। यहाँका अधिकांश बस्तीहरू अझै पनि सडक सञ्जाल र यातायात सुविधाबाट पूर्ण रूपमा जोडिएका छैनन्। यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन स्वास्थ्य सेवा—विशेष गरी प्रसूति सेवाको लागि प्रयाेग गर्ने निर्णय प्रश‌ंसनीय छ।