काठमाडौं, कात्तिक १८ । नेकपा (एमाले) झापाकाे कनकाई नगर कमिटीले ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड र आगजनी घटनाप्रति खेद प्रकट गर्दै पार्टीले यस्ता अवाञ्छित गतिविधि पुनः नदोहोऱ्याउन नदिने उद्देश्यले नगरस्तरीय सुरक्षा संरचना गठन गरेको हो। एमाले जिल्ला कमिटी झापाका सदस्य तथा युवा नेता विनोद राणाको संयोजकत्वमा र दीपक चापागाईंको सहसंयोजकत्वमा उक्त सुरक्षा दस्ता गठन गरिएको छ।
दस्ताका संयोजक राणाले जेनजी आन्दोलनका क्रममा एमालेका नेताकार्यकर्ता र जनप्रतिनिधिका घरमा भएको तोडफोड र आगजनी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो। उहाँले एमालेले राजनीतिक असहमतिको नाममा हिंसालाई कुनै पनि रूपमा समर्थन नगर्ने स्पष्ट धारणा राख्नुभयो।
त्यसैगरी सहसंयोजक दीपक चापागाईंले समाजमा फैलिरहेका अराजक गतिविधि, विकृति र विसंगतिकाविरुद्ध एमाले दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभचिन्तकलाई सचेत र सतर्क रहन आग्रह गर्नुभयो।
नगर कमिटीको विशेष कार्यक्रममा सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता र जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुङ्गेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका क्रममा भएका घटनाबारे जानकारी गराउँदै स्थानीयस्तरमा पार्टी संरचना र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, पार्टीका अग्रज नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्