रामेछाप, कात्तिक १९ । नेकपा (एमाले) रामेछापले आगलागीबाट घरसहित सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएका रामेछाप नगरपालिका–३ साघुटार, लक्ष्मिबासका ठेटबहादुर महतलाई आर्थिक सहयोग प्रदान गरेको छ । पार्टीले राहतस्वरूप नगद ८० हजार ६ सय रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।
सहयोग कार्यक्रमका क्रममा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की तथा रामेछाप नगर र वडा कमिटीका नेताहरू पीडितको घरमै पुग्नुभई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
गत शनिवार राति महतको घरमा भएको आगलागीबाट जस्ताको छानो भएको तीन कोठे घर र घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । आगलागी फ्रिजमा जोडिएको विद्युत् लाइन सर्ट भई सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, नगद, गहना तथा स्थानीय समूहका सामग्रीसमेत जलेका छन् ।
नेकपा (एमाले) रामेछाप नगर कमिटीका सचिव माधव ढकालका अनुसार यो विपद्को अवस्थामा जिल्ला कमिटी, नगर कमिटी, स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूद्वारा संयुक्त रूपमा सङ्कलित रकम सहयोगस्वरूप हस्तान्तरण गरिएको हो । उहाँले पार्टीले आवश्यक राहत सामग्री र सहानुभूतिको सन्देशसहित पीडित परिवारलाई साथ दिएको बताउनुभयो ।
यसअघि पनि प्राकृतिक विपद्का घटनामा नेकपा (एमाले) रामेछापले तत्काल राहत र सहयोग पुर्याउने परम्परा कायम गर्दै आएको छ । पार्टीका नेताहरूले पीडित महत परिवारलाई पुनः आवास निर्माण र आवश्यक सहयोगका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्