जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १२:१६

अष्ट्रेलियामा नेपाली युवतीले गरिन श्रीमानको हत्या


सिडनी, मंसिर १० । अष्ट्रेलियामा बसोवास गर्दै आएकी एक नेपाली युवतीले आफ्नै श्रीमानमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेकी छन । मृतकको पहिचान सन्तोष गौतम रहेको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको थियो । रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरेका थिए । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको हत्याको आरोप लागेको छ । समाचार एजेन्सीहरुको रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको र अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्याइएको छ । घटनाको केही घन्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ । परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताएका छन । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ ।

स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ । डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।