रामेछाप, कात्तिक २३ ।दश वर्षअघि खनिएको भए पनि यातायात सञ्चालन हुन नसकेको नागी–पहरे–पुलु–बेलौरी सडकखण्डमा बस सञ्चालनमा आउने भएकाे छ। लिखु तामाकोशी गाउँपालिका–२ र ४ को भू–भाग हुँदै जाने उक्त सडकमा लामो प्रतीक्षापछि पहिलो पटक परीक्षणका रूपमा बस सेवा सञ्चालन गरिएको हो।
अरनिको यातायात सेवा समितिको पहलमा सुरु गरिएको बस सेवाकाे एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार यसअघि सडक खुले पनि गाडी नचल्दा स्थानीयवासी वर्षौँदेखि सास्ती भोग्दै आएका थिए। ‘विगत १० वर्षदेखि सडक त खनिएको थियो, तर यातायात साधन नचलेका कारण नागरिकहरू मारमा परेका थिए,’ वडा अध्यक्ष पौडेलले भन्नुभयो, ‘अब भने अरनिको यातायात सेवा समितिको सहयोगमा बस सञ्चालन हुने भएको छ।’
उहाँले बस व्यवसायी र समितिलाई विशेष धन्यवाद दिँदै परीक्षणका रूपमा सुरु गरिएको सेवा अब निरन्तर गर्न पहल भइरहेको पनि बताउनुभयो। ‘समितिसँग कुरा भइसकेको छ, केही दिनभित्र नियमित रुटमा गाडी चल्नेछ,’ उहाँले जानकारी दिनुभयो।
उक्त सडकले नागी, पहरे, पुलु र बेलौरीलगायत बस्तीहरूलाई गाउँपालिकाको केन्द्रसँग जोड्ने भएकाले स्थानीयवासीमा ठुलो उत्साह देखिएको छ। यसअघि उक्त मार्गमा बिरामी, विद्यार्थी र किसानहरूलाई आवतजावतमा अत्यन्त कठिनाइ हुने गरेको स्थानीयवासीहरूले बताएका छन्।
स्थानीयहरूका अनुसार सडक सञ्चालनमा आएपछि गाउँको आर्थिक क्रियाकलापमा समेत सहजता आउने अपेक्षा गरिएको छ। कृषि उपज बजारसम्म पुर्याउन र गाउँका सेवा सुविधा उपभोग गर्न यसले सहजता ल्याउने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्