जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १५:४१

समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा स्वास्थ्यचौकीमा औषधिको अभाव


लहान, मंसिर १०

समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन् ।

विगत छ महिनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको हो । विगत एक सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषध नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गर्नुभयो ।अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख झौली साहको भनाइ छ ।

उहाँका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एन्टिबायोटिक्स स्वास्थ्यचौकीमा अहिले छैन । अहिले दैनिक २०÷२५ बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।