जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार १३:५७

बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा बेलिब्रिज निर्माण सुरु


रामेछाप, कात्तिक २४ । अघिल्लो वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा अब बेलिब्रिज निर्माण हुने भएको छ।

रोशी खोलाको किनारमा अवस्थित आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै यसअघि पक्की पुल रहेको स्थानमै सुनकोसी नदी माथि बेलिब्रिज निर्माणको तयारी भइरहेको हो। गत वर्ष रोशी खोला र सुनकोसी नदीमा आएको बाढीका कारण लुभुघाटको पक्की बगाएको थियो।

सो पुलले रामेछापलाई सिन्धुली हुँदै बिपी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण यातायात सञ्जालको काम गरेको थियो। बाढीले रामेछापपट्टीको ट्रष्ट ब्रिज (Trust Bridge) पूर्ण रूपमा बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । सिन्धुलीपट्टीको आधा भाग भने बग्नबाट जोगिएको थियो।

सडक विभागमार्फत अब सो बाँकी भागमा जोडेर अस्थायी रूपमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। हाल पुलसम्म पुग्ने सडक निर्माण, नदीले बगाएको ठाउँ फिलिङ गर्ने र स्पानकाे छेउकाे भाग मजबुत बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ।

स्थानीय राज मैनालीका अनुसार, फिलिङका लागि दुईवटा मेसिन प्रयोग भइरहेका छन्। उहाँले भन्नुभयो, ‘सडक विभागका प्राविधिकहरूको निर्देशनमा फिलिङ र ग्राभेलिङको काम भइरहेको छ। केही दिनमै पुल निर्माणको काम सुरु हुनेछ।’

पुल बगाउँदा रामेछापको सुनापति गाउँपालिकाका सबै वडा र खाँडादेवी तथा दोरम्बाका केही वडाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका थिए। पुल बगिसकेपछि ती स्थानीयवासीलाई काठमाडौं आउजाउ गर्न ३० किलोमिटरभन्दा बढी घुम्नुपर्ने बाध्यता सिर्जना भएको थियो।

स्थानीयवासीका अनुसार, वैकल्पिक बाटो लामो र जोखिमपूर्ण भएकोले कृषि उपज बजारसम्म पुर्‍याउन तथा स्वास्थ्य सेवासम्म पुग्न र बिरामीलाई अस्पताल लैजान निकै कठिनाइ भएको थियो।

बेलिब्रिज निर्माणले तत्काल आवागमन सहज पार्ने भए पनि स्थानीयवासीले स्थायी पक्की पुलको आवश्यकता जोडका साथ उठाउँदै आएका छन्। बेलिब्रिज अस्थायी संरचना भएकाले भारी सवारी साधन सञ्चालन गर्न कठिन हुने उनीहरूको भनाइ छ।

सडक विभागका इन्जिनियरहरूका अनुसार, स्थायी पुल पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढाइएको छ।

नेपालथोकको पुल बगाएपछि लामो समयदेखि दुर्गम बस्तीका नागरिकहरू आवागमनका समस्यामा परेका थिए। अब बेलिब्रिज निर्माण सम्पन्न भएपछि रामेछाप–सिन्धुली–काठमाडौं यातायात मार्ग पुनः सञ्चालनमा आउनेछ र जनजीवन सहज हुने अपेक्षा गरिएको छ।