जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार १५:१२

मधेस प्रदेशमा असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप, सात दल अदालत जाँदै


जनकपुर, कात्तिक २४ । मधेस प्रदेशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गर्नुभएको भन्दै सातवटा राजनीतिक दलले अदालत जाने निर्णय गरेका छन्।

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान आफूलाई स्वास्थ्य समस्या भएको र काठमाडौं उपचारका लागि प्रस्थान गर्न लागेको जानकारी पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनाललाई गराउनुभएको भए पनि त्यसको केही समयमै उहाँले महोत्तरीस्थित एक होटेलमा नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको उहाँहरूको आरोप छ ।

यस घटनालाई सातवटै दलले संविधान विपरीतको कदम भन्दै प्रतिवाद गरेका छन्। अदालतमा संयुक्त रिट दायर गर्ने निर्णयमा जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पुगेका हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवका अनुसार, सातवटै दलका प्रतिनिधिहरूको संयुक्त बैठक बसेर अदालत जाने निर्णय गरिएको हो। उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुखले संविधान र लोकतान्त्रिक परम्पराको मर्ममाथि प्रहार गर्नुभएको छ, यस्तो निर्णय लज्जास्पद र अस्वीकार्य छ।’

यादवका अनुसार, अदालतमा दायर गरिने रिटमा ७४ जना सांसदका हस्ताक्षर संलग्न हुनेछन्। उहाँले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी पनि भइरहेको जानकारी दिनुभयो।

मधेस प्रदेशमा पछिल्ला केही हप्तादेखि नयाँ सरकार गठनको विवाद चलिरहेको छ। प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सत्ता गठबन्धनको स्वरूप अस्थिर बनेको थियो। सोही अवस्थाको बिचमा प्रदेश प्रमुख भण्डारीले एमालेका सरोज कुमार यादवलाई ;सबैभन्दा ठुलो दलकाे संसदीय दलेका नेताको हैसियतमा मुख्यमन्त्रीको रूपमा शपथ गराउनुभएको हो।