जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार १६:३९

वीच्याट : चीनको डिजिटल जीवनशैली निर्माणको इन्जिन र नेपालको डिजिटल भविष्यको लागि सिकाइ


– माधव ढुंगेल-

सारांश

यस अनुसन्धान लेखमा “Tencent company” द्वारा विकसित “सुपर-एप-‘वीच्याट”लाई चीनभित्र सूचना, यातायात, स्वास्थ्य, शिक्षा, राष्ट्रिय सुरक्षा र दैनिक जीवनको प्रणाली निर्माण गर्ने एक आधारभूत संरचनाको रूपमा अध्ययन गरिएको छ। यसमा ‘वीच्याट’को विशेषताको साधारण विश्लेषण भन्दा पनि कसरी एक सन्देश वाहक एपबाट सम्पूर्ण समाजको लागि एक वास्तविक अपरेटिंग सिस्टमको रूपमा विकास भयो भन्ने रणनीतिक, प्राविधिक र सामाजिक-राजनीतिक प्रक्रियाहरूको छलफल गरिएको छ।

यसले कर्पोरेट नवप्रवर्तन र राज्यका नीति बीचको सम्वन्धलाई पनि विश्लेषण गरेको छ। अन्त्यमा, नेपालले आफ्नो डिजिटल रूपान्तरणको बाटोमा कुन सिकाइ लिन सक्छ भन्ने विषयमा एक गहन विश्लेषण प्रस्तुत गरएको छ।  लेखको तर्क यो हो कि नेपालले चीनको मोडललाई पूर्ण रूपमा अनुसरण  गर्न  सक्तदैन तर पनि यसले एकीकृत प्लेटफर्म, सार्वजनिक-निजी साझेदारी र प्रयोगकर्ता-केन्द्रित दृष्टिकोण जस्ता आधारभूत सिद्धान्तहरूले सक्षम, समावेशी र सार्वभौम डिजिटल सार्वजनिक संरचना निर्माणको लागि एक मूल्यवान रूपरेखा प्रदान गर्न सक्छ भन्ने विश्वास गरिएको छ।

१. परिचय

२१औं शताब्दी डिजिटल प्लेटफर्महरूको उदयले आर्थिक र सामाजिक जीवनलाई पुनर्संरचना गरेको समय हो। वीच्याट-चीनको Digital system लाई राम्रोसँग प्रतिनिधित्व गर्ने एउटा उदाहरण हो। सन् २०११ मा Tencent Company ले सुरू गरेको साधारण सन्देश वाहक एपको रूपमा सुरुवात गरिएको वीच्याटले आफ्नो मूल सीमालाई पार गर्दै एक अपरिहार्य सामाजिक उपयोगिताको रूपमा विस्तार गरेको छ । Wechat लाई चाईनामा “Digital Swiss Army knife” पनि भनिदो रहेछ । यसलाई अरबौं प्रयोगकर्ताहरूले आत्मीय सम्बन्धबाट लिएर सरकारी सेवा प्राप्त गर्न र आर्थिक लेनदेन गर्नसम्म विभिन्न कार्यहरूको लागि प्रयोग गर्ने गर्दछन् ।

यस लेखले वीच्याटलाई मात्र लोकप्रिय एपको रुपमा चर्चा गर्ने भन्दा पनि एउटा प्रणाली निर्माणको एक उदाहरणको रूपमा प्रस्तुत गर्न खोजेको छ । Wechat-राष्ट्रिय स्तरका कार्यहरूको सेवा गर्न जटिल, अन्तरनिर्भर प्राविधिक र सामाजिक प्रणालीहरूको निर्माण र यसको एकीकरण गर्ने एउटा विशिस्ट प्रक्रिया हो । यसको सफलताको रहस्य एकीकृत, निर्बाध इकोसिस्टम सिर्जना गर्ने र समाजको मूलभूत कार्यहरूलाई  सरल ढंगले एउटा मात्र पहुँचयोग्य प्लेटफर्ममा समेट्ने सक्षमतामा निहित रहेको छ। यस एकीकरणले अपार कार्यक्षमता ल्याएको छ, नागरिक-राज्य सम्बन्धलाई रूपान्तरण गर्नुको साथै चिनियाँ राज्यलाई शासन र सामाजिक व्यवस्थापनको लागि अभूतपूर्व उपकरणहरू प्रदान गरेको छ।

विकासशील राष्ट्र नेपालको लागि, सेवा वितरण, संरचना विकास र डिजिटल समावेशिताको चुनौतीहरूलाई सम्बोधन गर्दै, वीच्याटको मोडलले एक जटिल, तर महत्त्वपूर्ण केस स्टडी प्रस्तुत गर्दछ। “डिजिटल नेपाल फ्रेमवर्क” जस्ता महत्वाकांक्षी योजनाहरूबाट चिन्हित नेपालको आफ्नै डिजिटल यात्राले राष्ट्रिय विकासको लागि प्रविधिको उपयोग गर्न खोज्दैछ। यस अनुसन्धानले एउटा सार्थक प्रश्न उठाएको छ : “वीच्याटको प्रणाली निर्माण सफलताको पछाडि रहेका मुख्य यान्त्रिकता र चालक शक्तिहरू के हुन् र नेपालले आफ्नै सुसंगत डिजिटल समाजको बाटोतर्फ अग्रसर हुन प्राविधिक सिकाईका अतिरिक्त के रणनीतिक सिकाइहरू लिन सक्छ?”

२. सैद्धान्तिक ढाँचा: प्लेटफर्म मार्फत प्रणाली निर्माणको बुझाइ

“प्रणाली निर्माण” को अवधारणा Large Technological System को साहित्यहरूबाट आएको हो, जसले प्रविधि, संस्था र प्रयोगकर्ताको अभ्यासको सह-विकासलाई जोड दिन्छ। एक सफल प्रणाली निर्माताले मात्र प्रविधि आविष्कार गर्दैन; यसले प्रयोगकर्ता, व्यवसाय, सरकारी निकायहरूको एउटा नेटवर्कलाई केन्द्रीय वस्तु वा प्लेटफर्मको वरिपरि व्यवस्थित गर्दछ। आफ्नो प्लेटफर्म मोडल मार्फत वीच्याटले यसको उदाहरण दिएको छ। एउटा प्लेटफर्म निम्न विशेषताहरूद्वारा परिभाषित हुन्छ:

क. विभिन्न प्रयोगकर्ता समूहहरू (जस्तै, नागरिक र सरकार, उपभोक्ता र व्यवसायहरू) बीचको अन्तरक्रियालाई सहज बनाउने क्षमता विकास गर्दछ ।

ख. एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) र मिनी प्रोग्रामहरू मार्फत तेस्रो-पक्षीय सेवाहरूको इकोसिस्टमलाई क्युरेट र शासन गर्ने क्षमता विकास गर्दछ।

ग. यी अन्तरक्रियाबाट उत्पन्न डेटालाई कब्जा र विश्लेषण गर्ने क्षमताको विकास गर्दछ जसले प्रणालीको बुद्धिमत्ता र मूल्यलाई बढाउने फिडब्याक लूप सिर्जना गर्दछ।

यो ढाँचाले हामीलाई वीच्याटलाई स्थिर उत्पादनको रूपमा होइन, तर रणनीतिक निर्णय, नियामक वातावरण, र जनसङ्ख्याको प्रयोगकर्ता अपनाउने कार्यद्वारा निर्माण भएको गतिशील, विकासशील प्रणालीको रूपमा विश्लेषण गर्न अनुमति दिएको छ ।

३. वीच्याटको प्रणाली निर्माण प्रक्रियाको विश्लेषण

“प्रणाली निर्माण” केवल wechat को विस्तार एकाइकै कारणले मात्र भएको होइन, तर यो एक चरणबद्ध, रणनीतिक इकोसिस्टमले समेट्दै लाने प्रक्रिया हो।

३.१. चरण १: आधार – सामाजिक ग्राफ र मूल संचार (२०११-२०१३)

वीच्याटको शुरुवाती सफलता यसको नवीन विशेषताहरू (भ्वाइस मेसेजिङ, “शेक,” “पिपल नियरबाइ”) मा आधारित थियो जसले द्रुत गतिमा एउटा विशाल र मजबूत सामाजिक प्रयोगकर्ताको सम्पर्कहरूको नेटवर्क निर्माण गर्यो । यो सामाजिक उचाई सम्पूर्ण इकोसिस्टमको अपरिवर्तनीय  आधार बन्न पुग्यो। अरु एपहरु पनि थिए तर, अरु एपभन्दा फरक वीच्याटमा प्रयोगकर्ताको आकर्षण वढ्न गयो र यो  सामाजिक सम्बन्धहरूसँग गहिरो रूपमा जोडिएको थियो जसले समाज बदल्ने तागत बढाएको थियो र गहिरो संलग्नतालाई प्रोत्साहित गरेको थियो ।

३.२. चरण २: आर्थिक इन्जिन – वीच्याट पे र आर्थिक एकीकरण (२०१३-देखि अहिलेसम्म)

२०१३ मा “वीच्याट पे”को सुरुवात, चिनियाँ नयाँ बर्षको समयमा “लालो झोला” परम्पराको भाइरल सफलताले गति बढाएको थियो। सामाजिक संरचनामा भुक्तानी प्रणालीलाई निर्बाध रूपमा एकीकृत गरेर, Tencent ले सामाजिक तहको माथि एउटा लेनदेनको तह सिर्जना गर्यो। यसले वीच्याटलाई संचार उपकरणबाट आर्थिक प्लेटफर्ममा परिणत गर्यो, जसले “पीयर-टु-पीयर हस्तान्तरण, व्यापारी भुक्तानी र मुद्रा बजार कोष” जस्ता वित्तीय उत्पादनहरूलाई सक्षम बनायो। यस वित्तीय तहले पछिका सबै व्यावसायिक र सरकारी सेवाहरूको लागि “पाइप लाइन” को काम गर्यो।

३.३. चरण ३: इकोसिस्टम विस्फोट – मिनी प्रोग्राम र सर्व-व्यापी एकीकरण (२०१७-देखि अहिलेसम्म)

२०१७ मा “मिनी प्रोग्राम” को सुरुवात एउटा महत्त्वपूर्ण मोड थियो। यी हलुका उप-एप्लिकेसनहरू जसलाई वीच्याट भित्र नै डाउनलोड गरेर चलाउन सकिन्छ । यसले प्रभावकारी रूपमा एपलाई एउटा अपरेटिंग सिस्टम निर्माण गरायो । बहुराष्ट्रिय कम्पनीहरूदेखि स्थानिय साना पसलसम्मका व्यवसायीहरू र सरकारी निकायहरूले अब आफ्ना सेवाहरू सीधै वीच्याट भित्र विकास र सन्चालन गर्न सक्थे । यसले प्रयोगकर्ताहरूमा एप प्रतिको आकर्षण झनै बढायो र सेवा प्रदायकहरूको लागि डिजिटल उपस्थितिको अवरोधलाई कम गर्यो, जसले गर्दा इकोसिस्टमको विस्फोटात्मक, जैविक वृद्धि भयो।

४. वीच्याट: राष्ट्रिय संरचनाको रूपमा – एक क्षेत्रीय विश्लेषण

यो चरणबद्ध प्रणाली निर्माण प्रक्रियाले वीच्याटलाई चीनका महत्त्वपूर्ण क्षेत्रहरूमा गहिरो रूपमा स्थापित हुने मार्ग प्रशस्त गर्यो ।

४.१. सूचना इकोसिस्टम

वीच्याटले चीनमा सूचना प्रसारणलाई पुनर्परिभाषित गर्यो । यसको “अफिसियल एकाउन्ट्स” प्लेटफर्मले मिडिया आउटलेटहरू, सरकारी निकायहरू र आधिकारिक व्यक्तिहरूलाई सीधै समाचार र सूचनाहरू प्रकाशित गर्न बाटो खुलाई दियो। यसले केन्द्रीकृत तर विभिन्न ठाउँमा बिस्तारित सुचना सन्जाल सिर्जना गर्यो । कार्यक्षमता विकासमा लक्षित संचारलाई सक्षम पार्दै, यसले राज्यलाई आधिकारिक कथाहरू प्रसारण गर्न र सामग्री सेंसरशिप र सार्वजनिक राय मार्गदर्शनको लागि एक परिष्कृत संरचना प्रदान गर्यो जुन सामाजिक स्थिरता र विचारको एकिकृत प्रवाहसँगै राष्ट्रिय सुरक्षा लक्ष्यहरूसँग सीधै जोडिएको छ।

४.२. यातायात र स्मार्ट सहरहरू

वीच्याट चीनको सहरी गतिशीलता प्रणालीमा गहिरो रूपमा एकीकृत छ। मिनी प्रोग्राम र निर्मित सेवाहरू मार्फत, प्रयोगकर्ताहरूले ट्याक्सी बुक गर्न, साइकल भाडामा लिन, सार्वजनिक यातायात प्रयोग गर्न र पार्किङको लागि पनि पैसा तिर्न सक्छन् । “सिटी सर्विसेज” पोर्टलले यी कार्यहरूलाई एकत्रित गरेको छ जसले वीच्याटलाई नागरिक र सहरी वातावरण बीचको प्राथमिक इन्टरफेसको रूपमा राख्दछ। यस एकीकरणले जनसंख्या आवागमनको विशाल डेटासेट उत्पन्न गर्दछ जसले थप कार्य क्षमता वृद्धि गर्दछ र सहरी योजना र यातायात व्यवस्थापनलाई झनै सक्षम बनाएको छ।

४.३. स्वास्थ्य

वीच्याट मार्फत स्वास्थ्य सेवाप्रणालीलाई महत्त्वपूर्ण रूपमा सुधार गरिएको छ। बिरामीहरूले प्लेटफर्म प्रयोग गरेर निम्न सेवाहरु सरलिकृत गरिएको छ ।

• हजारौं अस्पतालहरूमा डाक्टरहरूसँग अपोइन्टमेन्ट बुक गर्न सक्छन्।

• इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डहरू पहुँच र भण्डारण गर्न सक्छन्।

• चिकित्सकीय परामर्श र औषधिहरुको भुक्तानी गर्न सक्छन् ।

• सानो-सानो रोगहरूको लागि डाक्टरहरूसँग टाढाबाट परामर्श लिन सक्छन्।

यसले प्रतीक्षा समय घटाएको छ, शारीरिक सुविधाहरूमा भार कम गरेको छ र हेरचाहको बिरामी-केन्द्रित मोडल सिर्जना गरेको छ । कोभिड-१९ महामारीको समयमा यो रूपान्तरण विशेष रूपमा देखिएको थियो जहाँ स्वास्थ्य कोड मिनी प्रोग्रामहरू सार्वजनिक आवागमनको लागि अनिवार्य बनाइएको थियो।

४.४. शिक्षा

वीच्याटले”जडान भएको कक्षा” अनुभवलाई सहज बनाउँदछ। शिक्षकहरूले अभिभावकहरूसँग सम्पर्क गर्न, गृहकार्य साझा गर्न  र सूचना दिन क्लास च्याट र अफिसियल एकाउन्ट्स प्रयोग गर्छन्। मिनी प्रोग्रामहरूले शिक्षणका लागि भाषा सिक्ने एपहरूदेखि इन्टरएक्टिभ विज्ञान सिमुलेसनसम्म धेरै साधनहरू प्रदान गर्दछन्। यसबाहेक विश्वविद्यालयहरू र Massive open online course हरूले पाठ्यसामग्री वितरण गर्न र छलफलहरू सहज बनाउन वीच्याट प्रयोग गर्ने गर्दछन्  जसले शिक्षालाई भौतिक कक्षाहरू भन्दा अझै गहिराइमा विस्तार गर्दछ ।

४.५. राष्ट्रिय सुरक्षा र शासन

यो वीच्याटको भूमिकाको सबै भन्दा जटिल र विशिष्ट पक्ष हो । राष्ट्रिय सुरक्षामा यसको योगदान दुई-तर्फ रहेको छ ।

• कार्यक्षमता र स्पष्टता: नागरिक-राज्य अन्तरक्रियाहरूलाई डिजिटल रूपमा परिणत गरेर र केन्द्रीकृत गरेर (जस्तै, कर भुक्तानी, सामाजिक सुरक्षा क्वेरीहरू, व्यवसाय दर्ता), राज्यले थप सशक्त जनसक्ति प्राप्त गर्दछ जसले थप कार्य क्षमतायुक्त शासन र नीति कार्यान्वयनलाई सहज बनाई दिएको छ ।

• सामाजिक व्यवस्थापन र नियन्त्रण: प्लेटफर्मको आर्किटेक्चरले संचार र गतिविधिहरूको व्यापक अनुगमनको बाटो पनि खुलाई दिएको छ । अरु विभिन्न मिनी प्रोग्रामहरू मार्फत “सामाजिक साख प्रणाली” को अवधारणाहरूको एकीकरणले सबैले देख्ने गरी वास्तविक-विश्वका परिणामहरूको प्रदर्शन गरेको छ । यसले सामाजिक मापदण्डहरू र राज्य आदेशहरूलाई लागू गर्न एउटा शक्तिशाली उपकरण सिर्जना गर्दछ, जसले कर्पोरेट प्लेटफर्म शासनलाई राष्ट्रिय सुरक्षा प्राथमिकताहरूसँग जोडेको छ ।

४.६. दैनिक जीवन

दैनिक जीवनमा वीच्याट- खाना वितरण र किराना सामान आदेश दिनेबाट साथीहरूसँग बिल बाँड्ने, बिलहरू व्यवस्थापन गर्ने, लगानी गर्ने, र सामाजिकरण गर्ने सम्मको काममा चिनियाँ नागरिकहरूको लागि भरोसायोग्य डिजिटल पहिचान बनेको छ । यो सुविधाले व्यापक मात्रामा प्रयोगकर्ताहरुको लक-इन सिर्जना गर्दै आवश्यक संरचनाको रूपमा यसको स्थितिलाई अझै मजबूत बनाई दिएको छ ।

५. नेपालको सन्दर्भ: डिजिटल आकांक्षा र वास्तविकता

नेपालको “डिजिटल नेपाल फ्रेमवर्क” ले डिजिटल हस्तक्षेपको लागि “डिजिटल आधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी विकास” गरी आठ वटा मुख्य क्षेत्रहरू रेखाङ्कन गरेको छ ।  दृष्टि स्पष्ट छ, तर कार्यान्वयनमा व्यापक अवरोधहरू छन्:

क. खण्डित डिजिटल पहलहरू:

विभिन्न सरकारी निकायहरू र निजी कम्पनीहरूले स्ट्यान्डअलोन एप र पोर्टलहरू (जस्तै, नागरिक एप, इसेवा, खल्ती) विकास गरेका छन्, जसले प्रयोगकर्ताको मन अलमलाई दिएको छ अथवा यो पनि त्यो पनि भन्ने मन बनाई दिएको छ ।

ख. इन्टरनेट केवलहरुको विविध रुप:

ग्रामीण क्षेत्रहरूमा विशेष गरी असमान इन्टरनेट प्रवेश र सीमित डिजिटल साक्षरता महत्त्वपूर्ण अवरोध बनेका छन् ।

ग. नीति र नियामक चुनौतीहरू:

डेटा संरक्षण ऐन र सार्वजनिक-निजी सहयोगको लागि सुस्पष्ट ढाँचा अझै विकास हुन सकेको छैन ।

घ. अव्यवस्थित वित्तीय अन्तरसम्बन्ध:

इसेवा र खल्ती जस्ता मोबाइल वालेटहरू सफल भए तापनि अर्थतन्त्रको एक ठूलो अंश नगदमा आधारित छ र विभिन्न वित्तीय प्लेटफर्महरूबीच अन्तर-सम्बन्ध स्थापित गरी नियमित कार्यमा जोड्न सकिएको छैन।

ङ. राजनीतिक प्रतिवद्धता र नीतिको अस्थिरता:

नेपालमा यस्तो एकिकृत प्लेट फर्म निर्माण गर्न ठूलो राजनीतिक प्रतिवद्धता र नीतिको स्थिरता आवश्यक हुन्छ त्यो सबैभन्दा कमजोर बनिरहेको छ जस्ले नेपालीको डिजिटल जिवनको यात्रा सुस्त र असहज बनाई दिएको छ।

६. नेपालको लागि सिकाइहरू: वीच्याट प्याराडाइमबाट सिक्ने रणनीतिक आवश्यकताहरू

नेपालले वीच्याट मोडललाई आयात गर्न सक्दैन जुन एउटा विशाल बजार, विशिष्ट नियामक वातावरण र एक कर्पोरेट शगरमाथाको अद्वितीय संयोजनबाट जन्मिएको छ। तर, यसको सफलताका रणनीतिक सिद्धान्तहरू हाम्रो लागि उपयोगी रहेका छन् ।

६.१. सिकाइ १: “नेपाली नागरिक एप” आर्किटेक्चर निर्माण:

नेपालले अहिले पनि  राष्ट्रिय  आधिकारिक “सुपर-एप” निर्माण गर्ने लक्ष्य राख्न सम्भव हुन सक्दछ। अरु निजी क्षेत्रको पहलमा निर्माण गरिएका एपहरुलाई सहायक बनाएर इन्टरलिंक गर्ने प्रणालीमा लान सकिन्छ । नागरिक एपलाई केन्द्रमा राखेर राष्ट्रिय डिजिटल सार्वजनिक संरचना (एन.डी.पी.आई) निर्माणमा केन्द्रित गर्न सकिन्छ। यो एन.डी.पी.आईले अन्तर-कार्यशील, मोड्युलर ” केहि ब्लकहरू” मिलाएर कुनै पनि अधिकारीक सार्वजनिक वा निजी सस्थाहरुले जोड्न सक्दछन् यी ब्लकहरूमा यो समावेश हुनुपर्छ:

• एउटा डिजिटल पहिचान तह: विद्यमान नागरिक आईडी प्रणालीलाई आधारभूत पहिचान प्रदायकको रूपमा विस्तार र सुरक्षित गर्नु पर्दछ।

• एउटा एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई): रियल-टाइम, अन्तर-कार्यशील भुक्तानी प्रणाली सिर्जना गर्ने जसले सबै बैंक र वित्तीय संस्थाहरू, जसमा इसेवा र खल्ती समावेश गरी निर्बाध रूपमा रकम स्थानान्तरणको ढोका खोलि दिने प्रणालीको एकिकृत रुप प्रस्तुत गर्नु पर्दछ ।

• एउटा डेटा विनिमय तह: सरकारी विभागहरू बीच र अधिकृत निजी संस्थाहरूसँग डेटा साझा गर्नको लागि एउटा सुरक्षित, सहमतिमा आधारित ढाँचा, जसले नागरिकको गोपनीयताको संरक्षण गर्न सक्नु पर्दछ।

यो दृष्टिकोणले भेन्डर लक-इन रोक्छ, प्रतिस्पर्धालाई प्रोत्साहन दिन्छ र प्रभुत्व सम्पन्न, सार्वजनिक-उद्देश्यमा आधारित नवीनताको मूल ढोका खुलाई दिन्छ।

६.२. सिकाइ २: “सहायक एप्लिकेसन” लाई प्राथमिकता

वीच्याटको वृद्धिले किलर एपहरूद्वारा गति बढाएको रहेछ: पहिले सन्देशवाहक, अनि लालो झोला। नेपालको डिजिटल प्रणालीमा पनि त्यस्तै उत्प्रेरकहरूको आवश्यकता पर्न सक्छ। सरकारले उच्च-प्रभाव, उच्च-आवस्यकताका उपयोगका विषयहरू पहिचान गर्नुपर्छ र तिनीहरू मार्फत अपनाउने कार्यलाई प्रेरित गर्नुपर्छ। नेपालको लागि सम्भावित “किलर एपहरू” निम्न हुन सक्दछन्:-

• अनुदान र सामाजिक कल्याण: सामाजिक सुरक्षा, किसान अनुदान, र छात्रवृत्तिको लागि प्रत्यक्ष लाभ हस्तान्तरणहरू एनडीपीआई मार्फत डिजिटल रूपमा सञ्चालन गर्ने, जसले चुहावट र ढिलाइलाई हटाउँछ।

• डिजिटल जग्गा दस्तावेज: जग्गा दर्ता र कर भुक्तानीलाई एउटा सरल, पारदर्शी प्रक्रियामा एकीकृत गर्ने।

• राष्ट्रिय स्वास्थ्य रेकर्ड: एनडीपीपीईको पहिचान र डेटा विनिमय तहहरूको आधारमा प्रत्येक नागरिकको लागि एउटा एकीकृत, पहुँचयोग्य स्वास्थ्य रेकर्ड सिर्जना गर्ने।

• राष्ट्रिय सुचना रेकर्ड: एन. डी.आई. पीको प्रणाली भित्र मोवाइल फोनलाई जोडि दिने, सामाजिक सन्जाललाई पनि जोडिदिने यसबाट हरेक सुचना प्रणाली र सामाजिक सन्जाल सन्चालनमा व्यत्तिको पहिचान हुनेछ र फरक आई. डि खोलेर गरिने सामाजिक अराजकताको अन्त्य हुन्छ ।

• राष्ट्रिय शिक्षा रेकर्ड: पढ्ने विद्यार्थीको रेकर्डसँगै शिक्षण संस्थाको रेकर्ड र यसले पढाउने सम्पुर्ण डाटा माग्दछ । यो डाटासँगै शिक्षण संस्था सन्चालनको रेकर्ड र पे सिस्टम जोडिन्छ ।

• विदेशीहरुको लागि आगमन र बहिर्गमन रेकर्ड

• राष्ट्रिय ट्रान्पोटेसन रेकर्ड,

• आवश्यकता बमोजिम व्यवसाय, आम्दानी, खर्चका विविध रेकर्ड थप्दै लान सकिन्छ।

यी दृश्यात्मक क्षेत्रहरूमा प्राप्त सफलताले सार्वजनिक विश्वास निर्माण गर्दछ र व्यापक डिजिटल इकोसिस्टमको वाटोलाई खुल्ला गर्दछ ।

६.३. सिकाइ ३: सार्वजनिक-निजी साझेदारी (पीपीपी) लाई प्रोत्साहन

चिनियाँ राज्यले Tecent लाई  नवप्रवर्तन गर्न अनुमति दिने नियामक वातावरण प्रदान गर्यो साथै यसको क्षमतालाई राष्ट्रिय लक्ष्यहरूतर्फ पनि मार्गनिर्देशन गर्यो। नेपालले आफ्नो डिजिटल आकांक्षाहरूको लागि सुस्पष्ट पीपीपी ढाँचा परिभाषित गर्नुपर्छ। सरकारको भूमिका मानकहरू (अन्तर-कार्यशीलता, सुरक्षा, गोपनीयता) निर्धारण गर्नु पर्दछ । यसको लागिआधार संरचना निर्माण गर्ने, र नियामकको रूपमा कार्य गर्ने अनुकुल वातावरण सृजना गर्नु पर्दछ। निजी क्षेत्रको भूमिका प्रयोगकर्ता अनुभवमा नवप्रवर्तन गर्ने, एप्लिकेसनहरू विकास गर्ने र अन्तिम माइल कनेक्टिभिटी र समर्थन प्रदान गर्ने हुनु पर्दछ।

६.४. सिकाइ ४: चरणबद्ध, प्रयोगकर्ता-केन्द्रित दृष्टिकोण अंगीकार

सामाजिक एप्स -भुक्तानी एप्स -इकोसिस्टम एप्सबाट चरणवद्ध रुपमा क्रमस:  वीच्याटको विकास भएको थियो । नेपालको रणनीतिमा पनि त्यस्तै पुनरावृत्ति गर्न सकिन्छ। केही महत्त्वपूर्ण सेवाहरू एकीकृत र सरल बनाएर सुरु गर्न सकिन्छ । अनुभवलाई परिष्कृत गर्न मजबूत प्रयोगकर्ता फिडब्याक दिने डिजिटल संयन्त्र  प्रयोग गर्न सकिन्छ। सेवाहरूको लागि स्मार्टफोन एपहरूको सुनिश्चित गर्ने र  चलाउन सिकाउने परामर्शको अभियान सञ्चालन गरिनु पर्दछ ।

६.५. सिकाइ ५: सुरुबाट नै एक मजबूत शासन र सुरक्षा ढाँचा स्थापना

वीच्याटबाट सिक्दा यसको विवादहरूबाट पनि सिक्नु पर्छ। नेपालले सक्रिय रूपमा एउटा व्यापक डेटा संरक्षण ऐन र साइबर सुरक्षा रणनीति स्थापना गर्नुपर्छ। एनडीपीआईमा नागरिक डेटालाई सार्वजनिक सम्पत्तिको रूपमा व्यवहार गरिनुपर्छ, जसको उपयोग उद्देश्य सीमित, डेटा न्यूनीकरण र व्यक्तिगत सहमतिको सिद्धान्तहरूद्वारा शासित हुनुपर्छ। एउटा सार्वभौम सम्पन्न डिजिटल संरचना डिजाइनद्वारा सुरक्षित, साइबर आक्रमणको निशाना बाहिर र अनुचित विदेशी प्रभाव वा कर्पोरेट अतिक्रमणबाट मुक्त हुनुपर्छ।

७. निष्कर्ष

वीच्याटको कथा भनेको एउटा डिजिटल प्लेटफर्मलाई राष्ट्रको केन्द्रीय स्नायु प्रणाली बनाउनको लागि कसरी इन्जिनियर गर्न सकिन्छ भन्ने हो। सूचना, सेवा, र शासनको लागि एकीकृत प्रणालीहरू निर्माण गर्नमा यसको सफलताले डिजिटल प्रविधिले समाजलाई पुनर्संरचना गर्ने सम्भावनाको शक्तिशाली प्रमाण प्रस्तुत गर्दछ।

नेपालको लागि, वीच्याट प्याराडाईमको रणनीतिक सिकाइहरूलाई आत्मसात गर्नु जरुरी छ: अन्तर-कार्यशील प्लेटफर्महरूको शक्ति, सहायक एप्लिकेसनहरूको उत्प्रेरक प्रभाव, जिवन्त सार्वजनिक-निजी साझेदारीको आवश्यकता र चरणबद्ध, प्रयोगकर्ता-केन्द्रित, सार्वभौम सम्पन्न, नैतिक र सुरक्षित शासन ढाँचाद्वारा आधारित मोड्युलर राष्ट्रिय डिजिटल सार्वजनिक संरचना निर्माणमा केन्द्रित गरेर, नेपालले आफ्नो डिजिटल भविष्यतर्फको आफ्नै छुट्टै बाटो चित्रण गर्न सक्दछ जसले राज्य र व्यक्तिको कार्यक्षमता  बृद्धि गर्नुको साथै आफ्नो लोकतान्त्रिक मूल्यहरू र राष्ट्रिय प्रभुत्वलाई पनि मजबूत बनाउँदछ।

अवसर वीच्याटको नक्कल गर्ने होइन, तर यसको आर्किटेक्चरबाट सिकेर एक डिजिटल इकोसिस्टम निर्माण गर्ने हो  । जुन विशिष्ट रूपमा नेपालीलाई सशक्त बनाउने हो। दुनियाँका दातृहरुसँग सहयोग यसैका लागि माग्नु पर्दछ।

नेपालमा पनि केही महत्वपूर्ण प्रयासहरू त भएका छन् । तर, डिजिटल क्षेत्रमा व्यापक परिवर्तनको योजना भने केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको रहेछ। त्यतिबेला  गरिएका प्रयासहरुलाई पूर्ण बनाउन सक्ने हो भने नेपालले डिजिटल क्रान्तिको पहिलो फेजको कामले ठूलै उचाइ लिने  विष्लेषण गरिएको छ।

सन्दर्भ सामग्रीहरु:
• Tencent. (Various Years). WeChat Annual Reports.
• Montag, C., et al. (2018). The Role of WeChat in Social Media and Its Impact on Psychological Well-Being in China.
• Plantin, J.-C., & de Seta, G. (2019). WeChat as infrastructure: the techno-nationalist shaping of Chinese digital platforms. Chinese Journal of Communication.
• Ministry of Communication and Information Technology, Nepal. (2019). Digital Nepal Framework.
• World Bank. (2021). The Global Findex Database: Financial Inclusion in Nepal.
• Government of India. (2022). India Stack: APIs for a Digital Nation.
November 8, 2025

( एमाले स‌ंगठन विभाग सचिव  ढुंगेल हाल चीनको अध्ययन भ्रमणमा हुनुहुन्छ)