जनता टाइम्स

२५ कार्तिक २०८२, मंगलवार १५:००

खाँडादेवीको दर्शन : राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल


काठमाडौं, कात्तिक २५ । राजधानी काठमाडौंबाट केही घण्टाको दूरीमै अवस्थित रामेछापकाे खाँडादेवी मन्दिर पछिल्ला वर्षहरूमा एक दिनमै पुगेर फर्कन सकिने उपयुक्त धार्मिक गन्तव्यका रूपमा लोकप्रिय बन्दै गएको छ ।

काठमाडौं उपत्यका, तराईका विभिन्न जिल्ला र पूर्वतर्फका यात्रुहरूका लागि खाँडादेवी मन्दिर न केवल धार्मिक श्रद्धाको केन्द्र बनेको छैन, छोटो यात्रामा दर्शन, भक्ति र प्राकृतिक सौन्दर्यको अनुभव दिलाउने रमणीय स्थलका रूपमा पनि परिचित बन्दै गएको छ ।

राजधानीबाट करिब चार घण्टाको यात्रामा पुगिने यो मन्दिरसम्म अहिले सबै प्रकारका यातायात साधन सहजै पुग्ने भएका कारण बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मका लागि यो अत्यन्तै उपयुक्त तीर्थस्थल बनेको छ । खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार, काठमाडौंबाट बिहानै निस्कँदा खालि पेटमै मन्दिर पुगेर दर्शन गर्न सकिन्छ । दर्शनपछि केही बेर मन्दिर परिसरमा रमाएर बेलुकी घर फर्कन सकिने भएकाले यो एक दिने धार्मिक यात्राको उत्कृष्ट गन्तव्य हो ।

काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाने यात्रुका लागि खाँडादेवी मन्दिरमा पुग्ने यात्रा पनि रमाइलो हुन्छ । राजमार्गको सित्खाबाट सुनकोसी नदी पार गरेपछि झण्डै एक घण्टामै मन्दिर पुगिन्छ । आफ्नै सवारीसाधन भएका काठमाडाै‌ंबाट बिपी मार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडाैं आउने भक्तका लागि पनि यो मार्ग आकर्षक गन्तव्य बन्न सक्छ ।  राजमार्ग छाडेको एक घण्टामा नै मन्दिर पुग्न सक्ने र मन्दिरबाट एक घण्टामा नै राजमार्गमा पुगिने भएकोले दुईदेखि तीन घण्टा थप समय छुट्टाएर हिँड्दा मन्दिरको दर्शन र नयाँ ठाउँको मज्जा एकैसाथ लिन पाइन्छ । स्थानीय बासिन्दा अनिता राईका अनुसार दर्शनसँगै रमाइलो घुमाइ हुने भएकाले खाँडादेवी आउनेहरूका लागि यो अवसर नै हो ।

सिन्धुली, महोत्तरी, धनुषा, सर्लाही लगायत तराई क्षेत्रबाट आउने भक्तजनहरू पनि एकै दिनमा मन्दिर दर्शन गरेर घर फर्कन सक्छन् । अग्लो डाँडामा अवस्थित भएकाले यहाँबाट आसपासको दृश्यावलोकन गर्न सकिन्छ र देवीको दर्शनसँगै प्राकृतिक शान्तिको अनुभूति पनि पाइन्छ ।

स्थानीय पुजारीहरूका अनुसार खाँडादेवीलाई ‘मागेको कुरा पूरा गरिदिने देवी’ मानिन्छ । यहाँ वर्षभरि पञ्चबली चढाउने, भाकल पूजा गर्ने र मनोकामना पूरा भएपछि पुनः देवीलाई धन्यवाद स्वरूप बलि वा पूजा चढाउने परम्परा रहेको छ ।

बाह्रै महिना भक्तजनको आवागमन हुने खाँडादेवी मन्दिरमा विशेष गरी दशैँ र चैते दशैँका अवसरमा ठूलो भीड लाग्ने गर्छ ।

खाँडादेवी मन्दिरलाई किराँतकालीन मन्दिर मानिन्छ । यहाँ वि.सं. १५७३ मा चढाइएको घण्टा र त्यसअघि चढाइएका चाँदीका जन्तर तथा गहनाहरू अहिले पनि सुरक्षित अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यी अवशेषहरूले मन्दिरको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वलाई प्रमाणित गर्छन् ।

राजधानी नजिकैको धार्मिक यात्रा खोज्नेका लागि खाँडादेवी मन्दिर अब एउटा उत्कृष्ट विकल्प बनेको छ । एकै दिनमा दर्शन, दृश्यावलोकन र प्रकृतिसँग निकटता अनुभव गर्न चाहनेका लागि खाँडादेवी श्रद्धा र सौन्दर्य दुवैको सङ्गम स्थल हो ।