जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १४:४७

‘जाजरकोटका जेन्जीले संस्कृति जोगाइरहेका छन्, शहरमा जेन्जीका नाममा सम्पदा जलाइरहेका छन’


जाजरकोट, कात्तिक, २८ ।  नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले जाजरकोटका युवाहरूले आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउने कार्यले समाजमा सकारात्मक सन्देश दिएको बताउनु भएको छ ।

नलगाड नगरपालिका–१२ को दामाचौरमा लाग्ने ऐतिहासिक मेलाको उद्घाटन गर्दै नेता आचार्यले यस्तो बताउनु भएको हो । उहाँले  भन्नुभयो,  ‘हाम्रा गाउँका युवाहरूले मेला– महोत्सव गरेर कला, संस्कृति र खेलकुदमा योगदान दिइरहेका छन् । यो कार्यले हाम्रो पहिचान र गौरव जोगाएको छ ।’

नेता आचार्यले गत भदौमा काठमाडौँमा भएको आन्दोलनको सन्दर्भ उल्लेख गर्दै थप्नुभयो,  ‘जाजरकोटका जेन्जी युवाहरू संस्कृति जोगाउन लागि परेका छन्, तर राजधानीका केही जेन्जी भने घर तोडफोड र आगजनीमा उत्रेका छन्। यस्तो अराजकता होइन, यस्तै सृजनात्मकता नै सच्चा युवाको परिचय हो।’

मेलामा हजारौँ युवाको उत्साहपूर्ण सहभागिता रहेको थियो। दुवै जिल्लाका युवाहरूले हार्दिकता र सद्भावका साथ पर्व मनाएका थिए। आयोजक समितिले नेता आचार्यलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेको थियो । आचार्यले युवाप्रति आभार प्रकट गर्दै भन्नेुभयो, ‘यो प्रयासले हाम्रो समाजमा नयाँ चेतना भरेको छ । आजका युवाहरूको ऊर्जा र सिर्जनशीलता देख्दा गर्व लाग्छ ।’

दामाचौर मेला रुकुम आठबिसकोट नगरपालिका–६ र जाजरकोट नलगाड नगरपालिका–१२ र १३ को सिमानामा परेका युवाहरूको संयुक्त पहलमा सञ्चालन गरिएको हो। मेलाले दुवै जिल्लाबीच सांस्कृतिक एकता र सहकार्यलाई अझ बलियो बनाएको आयोजकहरूको भनाइ छ ।