दोलखा, कात्तिक २८ । दोलखाको शैलुङ गाउँपालिकामा भएको ईभी (इलेक्ट्रिक भेइकल) दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ। गोर्खा स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरीमा बस्दै आउनु भएकी ६० वर्षीया एकुमाया अर्यालको शैलुङ अस्पतालमा उपचारका क्रममा निधन भएको दोलखा प्रहरीले जनाएको छ।
उहाँ आज दिउँसो शैलुङ गाउँपालिका–८ बुद्ध पार्क नजिकै भएको दुर्घटनामा गम्भीर रूपमा घाइते हुनुभएको थियो। काठमाडौंको मच्छेगाउँबाट पर्यटक लिएर शैलुङ भ्रमणका लागि आएको वाग्मती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी गाडी कच्ची सडक खण्डमा ब्रेक फेल हुँदा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा १४ जना घाइते भएका थिए। तीमध्ये ४ जनालाई घटनास्थलबाटै उद्धार गरी तत्काल सिन्धु सदाबहादुर अस्पताल खाडीचौर रिफर गरिएको थियो। अन्य ८ जनालाई शैलुङमा सामान्य उपचार गरेपछि साँझ थप उपचारका लागि काठमाडौं रिफर गरिएको दोलखा जिल्ला प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता, ईन्स्पेक्टर श्रीराम तिमल्सिनाका अनुसार रिफर गरिएका घाइतेमा ३२ वर्षीय सञ्जित अर्याल, २७ वर्षीया सासा रावल, ५ वर्षीया शान्ता अर्याल, १८ वर्षीय निशान खनाल, ३२ वर्षीया लक्ष्मी अर्याल, २३ वर्षीय विनिता लामिछाने, १३ वर्षीय लविन घिमिरे र शोभा लामिछाने छन्। तीमध्ये शोभा र सञ्जितलाई धुलिखेल अस्पताल तथा अन्यलाई काठमाडौं पठाइएको छ।
रिफर गरिएकामध्ये सासा रावल, सञ्जित अर्याल र लक्ष्मी अर्यालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सञ्जित मृतक एकुमाया अर्यालका छोरा हुन्। प्रहरीका अनुसार सञ्जितको टाउकोमा गम्भीर चोट लागेको छ भने लक्ष्मी र सासाको हात–खुट्टाका विभिन्न भागमा चोट पुगेको छ।
दुर्घटनामा पर्ने सबै व्यक्ति काठमाडौँको मच्छेगाउँबाट समूह बनाई शैलुङ घुम्न आएका पर्यटक भएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयाे। दुर्घटनाग्रस्त ईभीमा चालकसहित १६ जना सवार थिए। चालक गोकुल कार्की (४५), दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगु निवासी पनि घाइते भएका छन्।













प्रतिक्रिया दिनुहोस्