काठमाडौं, कात्तिक २८ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २९ औँ साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
साधारण सभाले विजयराज गौतमको अध्यक्षतामा गीता बराल, लता प्याकुरेल, केशव सिग्देल, विकास आचार्य, डा. विद्या चापागाईँ र दुर्गा कार्की रहेको नयाँ कार्यसमिति चयन गरेको छ।
साधारण सभामा स्वागत मन्तव्य राख्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेक अभियानको निरन्तरताका लागि आगामी तीन वर्षका लागि कार्यसमिति चयन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले आफ्नो नेतृत्वमा काम गरेको कार्यसमितिले नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रदेशगत मानव अधिकारको विश्लेषण सुरु गरेको, जलवायु न्यायलाई मानव अधिकारको अभिन्न अङ्गका रूपमा जोडेको तथा ‘प्राची प्रकाशन’लाई नियमित अङ्क र विशेष अङ्कका रूपमा प्रकाशन गर्दै आएको जानकारी गराउनुभयो।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले अनौपचारिक क्षेत्र अध्ययन केन्द्रबाट अनौपचारिक क्षेत्र सेवा केन्द्रमा रूपान्तरण गरी वैधानिकता कायम गर्ने क्रममा भएका प्रयास स्मरण गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तरता नै इन्सेकको विशिष्ट पहिचान रहेको बताउनुभयो। उहाँले फोरम एसियामा संस्थापक सदस्यताको अवधारणा अघि बढाएको ऐतिहासिक प्रसङ्ग पनि साझा गर्नुभयो।
इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेलले सङ्कटका बिच समाधान खोज्न नागरिक समाजको नेतृत्व महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राज्य सञ्चालनका जिम्मेवारहरूलाई जबाफदेही बनाउने, कानुन तथा कार्यविधिको व्याख्या जनताको पक्षमा हुने वातावरण बनाउन नागरिक समाज सजग हुनुपर्ने धारणा राख्नुभयो। उहाँले नवयुवा पुस्ताले उठाएका सुशासन सम्बन्धी आन्दोलनको पृष्ठभूमिमा आधारभूत तहबाट सुधार थाल्न आवश्यक रहेको बताउनुभयो।
इन्सेकका निवर्तमान अध्यक्ष इन्दिरा श्रेष्ठले इन्सेकले पीडितको पक्षमा आधारित भएर काम गर्ने अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। न्यायमा पहुँच स्थापित गराउन राज्यको जबाफदेहिता सुनिश्चित गर्नु इन्सेकको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो।
साधारण सभामा महासचिव रघुनाथ अधिकारीले आ.व. ०८१/८२ मा सम्पन्न कार्यक्रम, परियोजना तथा उपलब्धिबारे जानकारी प्रस्तुत गर्नुका साथै आ.व. ०८२/८३ का कार्यक्रम तथा परियोजना कार्य योजना साधारण सभामा पेस गर्नुभयो। अधिकारीले पेस गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन साधारण सभाले सर्वसम्मतिले पारित गरेको थियो।
त्यसैगरी कोषाध्यक्ष गीता बरालले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले अनुमोदन गरिएको छ।
साधारण सभाले पाँच बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ।













प्रतिक्रिया दिनुहोस्