रामेछाप, कात्तिक २८। नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशभरका जिल्ला सदरमुकाममा कात्तिक २९ का दिन आयोजना हुने कार्यक्रम ‘संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि’ केन्द्रित रहेको बताउनुभएको छ।
कात्तिक २९ गते नेकपा एमाले रामेछापको आयोजनामा मन्थलीमा हुने जनसभाको तयारीका सन्दर्भमा मन्थलीमा कुरा गर्दै उहाँले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संसद् पुनर्स्थापना नै वर्तमान राजनीतिक सङ्घर्षको मूल मुद्दा रहेको स्पष्ट गर्नुभयो। ‘संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि संसद् पुनर्स्थापना हाम्रो मूल मुद्दा हो’, उहाँले भन्नुभयो ।
भदौ २३ र २४ गते भएका अवाञ्छित घटना देश र व्यवस्था सिद्ध्याउने सुनियोजित षडयन्त्र भएको उहाँले बताउनुभयो । ‘राजनीतिक दल, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई कमजोर पार्ने सुनियोजित प्रयास स्वरूप ती घटना घटाइयो’, उहाँले भन्नुभयो ।
विविध समूह- राजावादी, माओवादी तथा स्वतन्त्र दाबी गर्ने केही व्यक्तिहरूलाई उपयोग गर्दै विदेशी शक्तिले देशमा अशान्ति मच्चाउन व्यवस्था नै समाप्त पार्न सो घटना गराएको उहाँको दाबी छ । ती घटनाक्रमका कारण सेना लगायतका सुरक्षा संयन्त्रसमेत केही समय अलमलिएको उहाँको भनाइ छ ।
ढुङ्गेलले हाल सबै पक्ष होसमा आइसकेको तथा ‘देश समाप्त पार्ने खेल’ भएको कुरा सर्वत्र स्पष्ट भइरहेको बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्