चितवन, कात्तिक २९ । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन। फोटो र भिडियोका आधारमा तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले दिनुभएको जानकारीअनुसार पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।
एसपी पुरीले पक्राउ परेकामध्ये केही यसअघि विभिन्न अपराध संलग्न भएकोसमेत पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरेकामध्ये सात जना पहिले नै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्ति रहेका छन । यसअघि ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहार लगायतमा जेल सजाय भुक्तान गरेकाहरू पनि रहेका छन् ।
बैंकका एटीएम फोड्न खोज्ने, विभिन्न सरकारी कार्यालयमा आगजनीको नेतृत्व गर्ने, भिडलाई उक्साने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्नेहरूलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिइने एसपी पुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई अपराधिक उपद्रो मुद्दामा अनुसन्धान प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।
भदौ २४ गतेको तोडफोडमा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधारलगायतका दर्जन बढी कार्यालय जलेका थिए । प्रहरी चौकी तथा कार्यालयमा आगजनी गरिएको थियो । जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा तोडफोड र आगजनी गरिएको थियो ।
जिल्लाका सरकारी कार्यालयहरुले क्षतिको विवरणसहित फोटो भिडियो पठाएर तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको पहिचान र कारबाहीको लागि लेखी पठाएका छन् । निजी घर तोडफोड र आगजनी भएकाका घरधनीहरूले पनि उजुरी दिएका छन् । प्रहरीले तोडफोड र आगजनीमा संलग्न जोकोही भए पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउने बताएको छ ।
पक्राउ परेकाहरूलाई छाड्न भनेर दबाब नदिन एसपी पुरीले बिशेष आग्रह गर्नुभयो ।
‘पक्राउ परेको मान्छे कुन कुन ठाउँमा गएको छ, उसको संलग्नता कस्तो छ, भूमिका के छ भन्ने बारेमा हेरेर, अनुसन्धान गरेर मात्रै प्रहरीले मुद्दा दर्ता गर्छ’, एसपी पुरीले भन्नुभयो, ‘केही अपराधिक काममा लागेका ब्यक्ति फरार छन, तिनलाई पनि पक्राउ गर्छौं ।’
चितवन प्रहरीले २४ गतेको घटनापछि २५ गते समुदायमा गएर तर्साउने, हातहतियार लिएर हिँड्ने, अराजकता फैलाउने ११ जनालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्