जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार २१:४७

रामेछापको गुम्देलमा एकीकृत घुम्ती सेवा शिविर : एकै स्थानबाट सर्वसाधारणलाई आवश्यक सेवा


रामेछाप,मंसिर २ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा मङ्गलवार सम्पन्न ‘एकीकृत घुम्ती सेवा शिविर’बाट स्थानीयले आवश्यक सरकारी सेवा एकै स्थानमा सहज रूपमा प्राप्त गरेका छन्। गाउँपालिकाले सर्वसाधारणको पहुँचमा सेवा पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरेको शिविरमा उल्लेख्य सङ्ख्यामा नागरिकको उपस्थिति देखियो।

शिविरमार्फत ५३ जनाले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरे भने ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराए। सो क्रममा ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

यही क्रममा १० वटा योजनाको सम्झौता सम्पन्न भयो भने ५ व्यवसायले व्यवसाय नवीकरण गराएका छन्। पशु स्वास्थ्य सेवाअन्तर्गत ६८ घरधुरीका ८०४ पशुमा औषधि वितरण गरियो। साथै ९ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको पशु सेवा शाखाले जानकारी दिएको छ ।

स्थानीय सेवा पुनःस्थापन तथा दर्ता प्रक्रियाबाट रु १३ हजार ५० राजस्व सङ्कलन भएको छ।

शिविरमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल सहित अन्य स्थानीय अधिकारीहरूको उपस्थिति थियो। अध्यक्ष सुनुवारका अनुसार घुम्ती सेवा अभियान भोलि वडा नम्बर २ बाम्तिमा सञ्चालन हुने छ र क्रमिक रूपमा सबै वडामा विस्तार गरिनेछ।

स्थानीय तहले सेवा नागरिकको घर दैलोमा पुर्‍याएको अनुभूति गर्दै स्थानीयवासीले यस प्रकारको पहलप्रति खुसी र कृतज्ञता व्यक्त गरेका छन्।