जनता टाइम्स

७ मंसिर २०८२, आईतवार २१:४०

रामेछापका हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडामा नै गएर सबै सरकारी सेवा


रामेछाप , मंसिर ७ । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले स्थानीय नागरिकहरूलाई वडास्थरमै पुगेर सरकारी सेवा उपलब्ध गराउन ‘एकीकृत घुम्ती शिविर’ सञ्चालन गरेको छ। भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले महत्वपूर्ण प्रशासनिक सेवा सिधै वडामा नै पुर्याएको हो।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा कार्ड वितरण, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशु स्वास्थ्य सेवा तथा औषधि वितरणलगायत सेवा प्रदान गरिएको छ। उहाँका अनुसार यो कार्यक्रम गाउँपालिकाले लगातार चार वर्षदेखि सञ्चालन गर्दै आएको छ। नागरिकलाई सकारकाे अनुभूति दिलाउन याे कार्यक्रम प्रभावकारी भएकाे उहाँकाे धारणा छ ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समेत सहकार्य गरी सात–आठ प्रकारका प्रमुख सेवा लिएर सिधै नागरिकको घरदैलोमा पुगेकाे बताउनुभयाे । यसले आम नागरिकको समय र खर्च दुबै बचत भएको उहाँकाे भनाइ छ । उहाँका अनुसार विकट भूगोलमा बस्ने नागरिकले सेवा पाउन लामो दूरी हिँड्नुपर्दा हुने कठिनाइ धेरै हदसम्म हटेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले धेरै नागरिकलाई गाउँपालिकाको केन्द्रसम्म आउन मात्रै पनि चार घण्टासम्म लाग्ने भएकाले वडामै सेवा पुर्‍याउने पहलले अत्यन्त राहत पुगेको बताउनुभयो। ‘गाउँपालिकाको सानो खर्चबाट नागरिकले ठूलो सुविधा पाउनुभएको छ,’ उहाँले भन्नुभयो।

जिल्ला प्रशासन कार्यालय रामेछापका अधिकृत भीमराज बस्नेतले नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाका लागि स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कहिलेकाहीँ रातिसम्म सेवा दिनुपरे पनि नागरिकका सबै काम सकेर मात्र टोली फर्किने गरेको छ।

उमाकुण्ड गाउँपालिकाको यो पहलले संविधानले परिकल्पना गरेको ‘हेर्न सकिने, देख्न सकिने, छुन सकिने र भेट्न सकिने’ स्थानीय सरकारप्रति नागरिकको प्रत्यक्ष पहुँच र भरोसा अझ बढाएको स्थानीयवासीहरूले बताएका छन्।

यसै बिच उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा आज एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। गाउँपालिकाले वर्षभरि सञ्चालन गर्दै आएको घुम्ती सेवा अभियानअन्तर्गत गुप्तेश्वरमा भएकाे शिविरमा विभिन्न सेवा प्राप्त गर्न स्थानीयवासीको उल्लेख्य उपस्थिती देखिएको थियो। शिविरमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, व्यवसाय नवीकरण, योजना समझदारी, पशु स्वास्थ्य, राजस्व संकलनलगायतका धेरै सेवा एकै स्थानबाट प्रदान गरिएका थिए।

शिविरमा नयाँ २५ र प्रतिलिपि ४२ गरी जम्मा ६७ वटा नेपाली नागरिकता सम्बन्धी काम सम्पन्न गरिएको छ।  राष्ट्रिय परिचयपत्रतर्फ ४३ जनाको विवरण संकलन र ३ जनालाई कार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय व्यवसायीका लागि गरिएको व्यवसाय नवीकरणमा ९ वटा व्यवसाय नवीकृत भएका छन्। गाउँपालिकाले चालू आवको योजना सम्झौता प्रक्रिया पनि शिविरमै अघि बढाउँदै १७ वटा योजना सम्झौता सम्पन्न गरेको छ। यसले योजनाको प्रारम्भिक प्रक्रियामा देखिने समय र झन्झट कम गर्न मद्दत पुगेको जनाइएको छ।

पशु सेवा शाखाद्वारा सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा ७७ घरधुरीका १ हजार ५ सय ४ पशुमा औषधि वितरण तथा आवश्यक उपचार प्रदान गरिएको छ। यसै क्रममा १७ वटा कुकुरलाई रेबिज विरुद्ध खोप पनि लगाइएको छ ।

शिविरमार्फत जम्मा १५ हजार ३ सय रुपैँया राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ।

यस वर्षका लागि गाउँपालिकाका ६ वटा वडामा घुम्ती शिविर सम्पन्न भइसकेको छ। भोलि वडा नं. ७ भुजीमा अन्तिम शिविर सञ्चालन हुने जनाइएको छ। भुजीमा प्रशासनबाट प्रदान गरिने सेवा विहान ७ बजेबाट सुरु हुनेछ।