जनता टाइम्स

८ मंसिर २०८२, सोमबार ०९:३२

विवाह पञ्चमी महोत्सव : जनकपुरमा तीन दिनसम्म विद्यालय बन्द हुने, माछा-मासु बिक्रीमा पनि रोक 


जनकपुर, मंसिर ८ । विवाह पञ्चमी महोत्सवका कारण जनकपुरधामका विद्यालय तीन दिनसम्म बन्द हुने भएका छन् । मिथिलाको ऐतिहासिक विवाह पञ्चमीलाई सप्ताहव्यापी रूपमा मनाइने क्रमसँगै सुरक्षा, भीड व्यवस्थापन र भक्तजनको सुविधालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

संस्थागत विद्यालयहरू आबद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त सूचना जारी गर्दै तीन दिनका लागि विद्यालय बन्द राखिने उल्लेख गरेका छन्। सूचनामा विवाह महोत्सवका कार्यक्रमहरूमा भीड अत्यधिक हुने भएकाले विद्यार्थी तथा अभिभावकलाई सहजता मिलाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।

यस्तै, महोत्सवका दिन मेलालाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि मंसिर १० गते राति १२ बजेसम्म तीन दिनका लागि लागू हुने गरी माछा–मासु तथा मदिरा बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

आदेश विपरीत माछा–मासु वा मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। प्रशासनले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको विवाह पञ्चमी महोत्सवलाई शान्तिपूर्ण र सभ्य ढङ्गले सम्पन्न गर्न सबैमा सहयोगात्मक व्यवहार अपनाउन आग्रह गरेको छ।