रामेछाप, मंसिर १४ । रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरमा दर्शन गर्न आउनेको लर्को बढेको छ ।
हिउँद लागेसँगै खाँडादेवीमा दर्शन, यज्ञ, पूजा, बलि तथा पञ्चबली लिएर आउनेको भिड बढेको छ । मन्दिरमा बिहान सबेरैदेखि दिउँसो अबेरसम्म दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
पछिल्लो समय मन्दिरमा काठमाडौं उपत्यकाबाट आउने दर्शनार्थीहरुको सङ्ख्या निक्कै बढेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै काभ्रेबाट पनि ठुलो सङ्ख्यामा दर्शनार्थीहरु मन्दिरमा आउने गरेका खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ ।
यस बाहेक पूर्वी नेपाल तथा तराई र वाग्मती प्रदेशका विभिन्न जिल्लाका दर्शनार्थीहरु पनि मन्दिरमा दर्शनको लागि आउने गर्दछन् । कुनै कार्यसिद्धि होस् भनेर खाँडादेवीलाई भाकल गर्नेहरू कार्यसिद्धि भएपछि खाँडादेवीमा पञ्चबलीको रूपमा राँगा, बोका, कुखुरा, हाँस, परेवा लगायत बलि तथा पूजा लिएर जाने गर्दछन् ।

हिउँद लागेपछि सवारी साधन सञ्चालनमा सहज हुँदा मन्दिरमा जाने भक्तजनहरूको सङ्ख्या निक्कै बढेको छ । अहिले खाँडादेवी मन्दिरसम्म सहजै यातायात साधन पुग्दछन् । मन्दिरमा जान करिब ३ किलोमिटर कच्ची सडक छ । अन्य सडक पिच र ग्राभेल छ ।
अन्य दिनको तुलनामा मंगलबार र शनिबार मन्दिरमा दर्शन गर्न, होम होमादि तथा बलि पूजा लिएर आउने मानिसहरूको सङ्ख्या बढी हुन्छ । यो मन्दिरमा बाह्रै महिना वली पूजा चढ्दछ ।
खाँडादेवीलाई ऐतिहासिक धार्मिक शक्ति पीठ मानिन्छ । यो मन्दिरलाई किराँतकालीन मन्दिर मानिन्छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाइएका चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ ।













प्रतिक्रिया दिनुहोस्