रामेछाप, मंसिर १९ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी प्रति भक्तजनहरूको विश्वास बढ्दै गएको छ ।
खाँडादेवी प्रतिको बढ्दो विश्वासको कारण मन्दिर आउने भक्तजनहरूको सङ्ख्या बढ्दै गएको छ । मन्दिरमा दर्शन र बलि पूजा लिएर आउने मानिसहरूका साथै यज्ञ र होम गर्ने भक्तजनहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।
खाँडादेवी मन्दिर परिसरमा रुद्री, चतुर्थी, होम तथा देवीको लागि होम यज्ञादि गर्ने मानिसहरूको पनि भिड लाग्न लागेको छ । खाँडादेवीमा यज्ञ गर्न साधु-सन्तहरुदेखि सर्वसाधारणसम्म आउने गरेका छन् ।

मन्दिरमा दर्शन गर्न आउने तथा बलिपूजा लिएर आउनेका साथै होम, यज्ञादि गर्न आउनेले खाँडादेवीको धार्मिक वातावरण अझ सुदृढ हुँदै गएको छ ।
यसै बिच बाबा मुक्तिनथले खाँडादेवीमा देवीका लागि १ हजार ८ होम यज्ञ गर्नुभएको छ । यज्ञ सकिन लाग्दा यज्ञमा राखिएका नरिवलका जटा एक एक पटपटि फुटेपछि भक्तजनहरु दैविक शक्ति भन्दै आश्चर्यमा परेका थिए ।

विज्ञानले भने यज्ञस्थलको तापको कारण नरिवल भित्रको पानी तातेर त्यसको प्रभावको कारण बाहिरको जटा चर्किएको भन्छ । तथापि यसरी यज्ञस्थलमा नै नरिवलको जटा चर्किएको नदेखिएको भन्दै स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।
खाँडादेवीलाई किराँतकालीन देवी मानिन्छ । खाँडादेवीको दर्शन र पूजा गर्न रामेछाप, दोलखा, काभ्रे सिन्धुली सहित मधेसका विभिन्न जिल्ला तथा काठमाडौं उपत्यकाबाट दैनिक जसो गाडी रिजर्भ गरेर मानिसहरू आउने गर्दछन् ।













प्रतिक्रिया दिनुहोस्