जनता टाइम्स

२० मंसिर २०८२, शनिबार १४:४१

भक्तपुर–ललितपुर जोड्ने ढुङ्ग्रेखोला–लतनटोल कल्भर्ट निर्माणको शिलान्यास


भक्तपुर, मंसिर २० । भक्तपुर जिल्ला र ललितपुर जिल्ला जोडिने महत्त्वपूर्ण सडकअन्तर्गत सूर्यविनायक नगरपालिका–१ ढुङ्ग्रेखोला, लतनटोल स्थित कल्भर्ट (पुल) निर्माण कार्यको शनिबार औपचारिक शिलान्यास गरिएको छ। वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले उक्त कल्भर्ट निर्माणको शुभारम्भ गर्नुभएको हो।

शिलान्यास समारोहमा वडा अध्यक्ष सानुकाजी कायस्थ, वर्तमान तथा पूर्व जनप्रतिनिधिहरू, समाजसेवीहरू र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। स्थानीय पूर्वाधार विकासको प्रमुख आवश्यकता बनेको सो स्थानमा कल्भर्ट निर्माण भएपछि भक्तपुर–ललितपुर आवागमन सहज हुने अपेक्षा गरिएको छ।

मन्त्री थापाले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाधार निर्माण प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो। उहाँले स्थानीय तहसँग समन्वय गरी दिगो र सुरक्षित यातायात पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वडा अध्यक्ष कायस्थले कल्भर्ट निर्माण लामो समयदेखि स्थानीयको माग भएको बताउँदै अब यसले यातायात सहजता र वर्षायामको जोखिम घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शिलान्याससँगै निर्माण कार्य सुरु गरिएको छ। कल्भर्ट निर्माणको जिम्मा स्वइच्छा/ सिपाली जेभीले पाएको छ । कुल ६५ लाख ६५ हजार ७ सय ३६ रुपैँया लागतमा निर्माण हुने सो कल्भर्ट अगामी वैशाख ३० गतेसम्म पुरा गर्ने गरी सम्झौता भएको छ ।