रामेछाप, मंसिर २४ । बढ्दो सामाजिक अराजकताका कारण मानव अधिकार संकटग्रस्त बन्दै गएको निष्कर्ष रामेछापका सराेकारवालाले निकालेका छन् ।
मन्थली नगरपालिकाले बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले मानव अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै विगतको तुलनामा स्थिति थप कमजोर बन्दै गएको बताएका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोला भट्टले समाजमा देखिएका पछिल्ला घटनाले मानव अधिकारका विषयमा सन्तोष मान्न सकिने अवस्था नरहेकाे बताउनुभयाे। हाल प्रहरीकै बर्दी च्यात्ने जस्ता आपराधिक घटना समेत बढिरहेको उल्लेख गर्दै उहाँले मानव अधिकार संरक्षणका लागि अहिलेको समय निकै चुनौतीपूर्ण बनेको धारणा राख्नुभयाे ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले अहिले सामान्य नागरिक मात्र होइन, राजनीतिक दलका शीर्षस्थ नेताहरूको समेत अभिव्यक्ति स्वतन्त्रता सीमित बन्दै गएको बताउनुभयाे। ‘राजनीतिक दलका नेताहरूले खुलेर कुरा गर्न नसक्ने अवस्था छ, कार्यक्रममा जाँदा विमानस्थल नै लक गरिन्छ, कोही चुइँक बोल्न नसक्ने स्थितिमा मानव अधिकारको परिकल्पना कसरी गर्ने ?’ उहाँले भन्नुभयाे।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि तथा मानव अधिकारकर्मी नवराज पथिकले जिल्लाको समग्र मानव अधिकार अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्न
भएकाे थियाे। उहाँकाे भनाइमा रामेछापमा सबै खालका मानव अधिकार हननका घटना विगतकै जस्तै भइरहेकाले सन्तोष मान्न सकिने अवस्था छैन।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठलगायत जनप्रतिनिधि, नागरिक अगुवा, सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूको सहभागिता थियो।













प्रतिक्रिया दिनुहोस्