प्रदेश १शिक्षा / स्वास्थ्यसमाचारसमाज

भारतले सिमाना मिचेपछी बालबालिकामा पनि जाग्यो देशभक्ति, कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

झापा, मंसिर १४

झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो ।

सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान लिम्पियाधुरा भएको बारेमा जानकारी दिएर नक्सा कोर्न लगाउँदा विद्यार्थीमा राष्ट्रियता र सीमासम्बन्धी चेतना बढेको बुढाथोकीले बताउनुभयो ।

“आफ्नो देशको माटोबारे विद्यार्थीलाई जानकारी गराउनु कर्तव्य सम्झेर हामीले नक्सा कोर्न सिकाएका हौँ”, बुढाथोकी भन्छन् । आठ सय विद्यार्थी अध्ययनरत लक्ष्मी माविको कक्षा ७ मा ८० विद्यार्थी छन् । विद्यार्थीले बनाएको नेपालको नयाँ नक्सामा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’ भन्ने नारा लेखिएको छ । सो नक्सा विद्यालयमा राखिएको छ ।

Comment here