जनता टाइम्स

७ पुष २०८२, सोमबार १३:३६

खाँडादेवी मन्दिरमा अब क्याटरिङ सेवा पनि, बाहिरबाट आउने दर्शनार्थीलाई सहज 


रामेछाप, पुस ७ । ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीमा पूजा, भोज, विवाह, व्रतबन्ध वा अन्य धार्मीककार्य तथा पिकनिकको लागि जानेले अब आफ्नै भाँडाबर्तन र पकाउने सामान बोक्नु नपर्ने भएको छ ।

अब खाँडादेवीमा नै स्थानीय समुदायले सञ्चालन गरेको क्याटरिङबाट पकाउने, खाने भाँडाबर्तन तथा पकाएको खाना समेत पाइने भएको छ । स्थानीयले समूह बनाएर सामूहिक क्याटरिङ सञ्चालनमा ल्याएपछि मन्दिरमा गएर भोज गर्नेलाई सहज भएको हो । क्याटरिङको लागि ४ लाख बराबरको सामान सामुदायिक विकास समाजले दिएको समूहकी सदस्य अनिता राई बताउनुहुन्छ । यस काममा खाँडादेवी विकास कोषले समेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

पहिला मन्दिरमा धार्मिक कार्य र भोज गर्न आउने बाहिरका मानिसहरूले कि त घरबाट नै सामान लिएर आउनु पर्ने कि मन्दिर आसपासका घर घरमा भाँडाकुँडा खोज्न हिँड्नु पर्ने बाध्यता थियो । अब त्यो बाध्यता टरेको छ । क्याटरिङ सञ्चालनमा ल्याएपछि स्थानीयले समेत रोजगारी पाएका छन् ।

सामान नहुँदा मन्दिरमा बलि पूजा लिएर आउनेलाई निक्कै समस्या हुने गरेको समूहकी सदस्य निरस तामाङ बताउनुहुन्छ । सामान भएपछि भक्तजनहरूलाई पकाउन, खान धेरै सहज भएको उहाँको भनाइ छ  ।

खाँडादेवी निक्कै पुरानो शक्तिपीठ हो । किराँतकालीन यो मन्दिरमा दर्शन गर्न तथा बलि र पञ्चबलि लिएर काठमाडौं उपत्यका तथा छिमेकी जिल्लाहरूका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् ।

क्याटरिङ सेवाले पूजा गरेका राँगा तथा बोका बनाइ दिनुका साथै, भाँडाबर्तन र खाना समेत बनाएर दिने भएपछि बाहिरबाट आउने दर्शनार्थीलाई निक्कै सहज भएको छ ।