सिन्धुली, पुस ८ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई आगो लगाएर हत्या गरेको आरोपमा मृतककी सासु ५० वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कमलामाई नगरपालिका–४ धुराबजारस्थित ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा सोमबार पेट्रोल र मट्टितेल छर्केर सुशीला बम्जनलाई आगो लगाइएको थियो । आगलागीको क्रममा दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाडसमेत जलेको छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोलका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँकोसमेत फेला परेको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
मृतक सुशीला बम्जनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । मृतकका बाबु हरिहरपुरगढी गाउँपालिका–४ का प्रेमबहादुर घिसिङले दुर्गामान बम्जन, मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराउनुभएको छ ।
जाहेरीका आधारमा ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी सुवेदीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्