विराटनगर, पुस ११ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा महत्वपूर्ण निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बैठकले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ लाई स्वीकृत गरेको छ । यस कार्यविधि कार्यान्वयनसँगै प्रदेशमा उद्यमशीलता प्रवर्धन र रोजगारी सिर्जनालाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
त्यसैगरी ‘कोशी जनता आवास कार्यक्रम कार्यविधि’ लाई प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय गरिएको छ । उक्त कार्यविधि अन्तिम स्वीकृतिअघि संसदीय समितिमा छलफल गरिने मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
बैठकले ‘सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ । यसले प्रदेश सरकारअन्तर्गत सम्पन्न भइसकेका आयोजनाहरूको हस्तान्तरण प्रक्रिया स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यसका साथै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई सोही कार्यालयमा प्रदेश सचिवको रूपमा कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश सरकारका नीति तथा प्रशासनिक संरचना सुदृढीकरणसँग सम्बन्धित यी निर्णयहरूलाई आगामी कार्यान्वयन चरणमा महत्त्वपूर्ण मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्