रामेछाप, पुस १२ । खाँडादेवी मन्दिरमा दर्शन तथा पूजा गर्न आउने भक्तजनलाई खानेपानीको असुविधा नहोस् भन्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्दिरसम्म पानी तान्ने लिफ्ट मेसिन सहयोग गरेको छ।
नगरपालिका प्रमुख लब श्रेष्ठले उक्त खानेपानी तान्ने मेसिन हस्तान्तरण गर्नुभएको हो। हाल गोपीखोलाबाट पानी तान्दै आएको पुरानो मेसिन जीर्ण बन्दै गएर बिग्रने अवस्थामा पुगेको बेला नयाँ मेसिन सहयोग प्राप्त भएपछि नियमित खानेपानी आपूर्तिमा सहजता आएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो।
धार्मिक स्थललाई लक्षित गरी ४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त मेसिन उपलब्ध गराइएको भन्दै खाँडादेवी खानेपानी उपभोक्ता समिति र खाँडादेवी विकास कोषले मन्थली नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेका छन्।
https://www.facebook.com/watch/?v=890424160225299
किराँतकालीन धार्मिक शक्तिपीठका रूपमा परिचित खाँडादेवी मन्दिरमा दर्शन र बलिका लागि ठुलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन्।
नयाँ मेसिन जडान भएसँगै जगेडा प्रणालीसमेत तयार भएकाले भविष्यमा मेसिन बिग्रिए पनि खानेपानी आपूर्ति नरोकिने अवस्था बनेको विकास कोषले जनाएको छ। यस सहयोगले धार्मिक पर्यटक र स्थानीय समुदाय दुवैलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्