हेटौँडा, पुस १४ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले र सन्तुलित विकास नहुँदा सरकारले निर्माण गरेका धेरै संरचनाहरू प्रयोगविहीन हुँदै गएका बताउनुभएको छ ।
हेटौँडामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री थापाले सन्तुलित विकासका लागि जनसङ्ख्या नीतिको आवश्यक रहेको बताउनुभयो । सो नीति नहुँदा गाउँ खालि हुँदै गएका र सहरी क्षेत्रमा चाप बढ्दै गएको उहाँले बताउनुभयो ।
संघीय सरकारले जनसङ्ख्या नीति जारी गरेकोले अब वाग्मती प्रदेश सरकारले पनि सो नीति जारी गर्ने थापाले बताउनुभयो । प्रदेश सरकारले जनसङ्ख्या नीति तयार गरिसकेकोले अब त्यसलाई केही संशोधन गरी जारी गरिने उहाँले जानकारी दिनुभयो ।
बसाइसराइको कारणले आज कतिपय जिल्ला रित्तिँदै गएका र कतिपय जिल्लामा थेग्नै नसक्ने गरी जनसङ्ख्या बढेको उहाँले बताउनुभयो । देशकै सबैभन्दा सानो भक्तपुर जिल्लामा सबैभन्दा धेरै जनघनत्व भएको उहाँले सुनाउनुभयो ।

शिक्षा, स्वास्थ्य रोजगार तथा भौतिक पूर्वाधारका कारण बसाइसराइ तीव्र भएको थापाले बताउनुभयो । सन्तुलित विकासले बसाइसराइ नियन्त्रण गर्न सकिने उहाँको धारणा छ । ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारीलाई हामीले प्राथमिकतामा राखेर काम गर्नुपर्छ, त्यसो भयो भने मात्र बसाइसराइ रोक्न सकिन्छ’, उहाँले भन्नुभयो ।
तीनवटै तहका सरकारले अब रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसो भयो भने युवा पलायन रोक्न सकिने मगरको धारणा छ ।
उहाँले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता नदिँदा सो क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । तथापि वाग्मती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्