विराटनगर, पुस १५ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुरुङ समुदायको महान् पर्व तमु ल्होसार तथा कुलुङ जातिको प्रमुख चाड चाक्चाकुरका अवसरमा प्रदेशभित्र र देश–विदेशमा रहनुभएका सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने उल्लेख गर्नुभएको छ। साथै, कुलुङ जातिको मौलिक पर्व चाक्चाकुरले समुदायको परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणमार्फत सामाजिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ।
उहाँले विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले आपसी सद्भाव र स्नेहलाई अझ बलियो बनाउँदै समृद्धिको यात्रामा सकारात्मक योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक पहिचानले सम्पन्न मुलुक भएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले यही पहिचानले हाम्रो संस्कृति र गौरवलाई समृद्ध बनाएको बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीका अनुसार कोसी प्रदेश सरकार स्थापना कालदेखि नै विभिन्न समुदायले मनाउँदै आएका चाडपर्व, भाषा र संस्कृतिको संरक्षण तथा संवर्धनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ। यस्ता पर्वहरूको संरक्षण र प्रवर्द्धनले सबै समुदायको पहिचान, आस्था र जीवनशैलीलाई स्थापित गर्न सहयोग पुगेको अनुभूति आफूले गरेको उहाँले जनाउनुभएको छ।
उहाँले पर्वहरूको उमङ्गसँगै आपसी सद्भाव, सहयोग र भाइचाराको भावनाले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले कोसी प्रदेशलाई विविध संस्कृतिहरूको साझा फूलबारीको संज्ञा दिँदै यहाँका विभिन्न समुदायका मौलिक पर्व, भाषा, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ। तमु (गुरुङ) र कुलुङ समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामाजिक एकताले प्रदेशको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।
कार्कीले तमु ल्होसार तथा चाक्चाकुर पर्वले शान्ति, समृद्धि, आपसी भाइचारा र सकारात्मक ऊर्जाको सञ्चार गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्