– नवराज पथिक –
कुनै समय थियो, जब सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्नु केवल असहमति मात्र होइन, सामाजिक अपराधजस्तै मानिन्थ्यो ।
कुनै बेला उहाँको आलोचना गर्नु अपराधसरह मानिन्थ्यो । आलोचना त परै जाओस्, प्रश्न उठाउने हिम्मत गर्ने जो–कोही सामाजिक सञ्जालको भीडबाट अश्लील गाली, चरित्रहत्या र धम्कीको सिकार बन्थ्यो । ‘पुराना दलका दलाल’, ‘झोले’, ‘माफियाका एजेन्ट’, ‘देशद्रोही’ जस्ता आरोप सामान्य थिए । आलोचकका सात पुस्तासम्मले गाली खाने वातावरण बनाइएको थियो, त्यो पनि अति छाडा, अश्लील र हिंस्रक भाषामा ।
तर राजनीति जति गतिशील हुन्छ, जनभावना त्यसभन्दा पनि छिटो बदलिन्छ । आज समय मात्र उल्टिएको छैन, सामाजिक सञ्जालका प्रयोगकर्ता पनि उल्टिएका छन् । हिजो रवि लामिछानेलाई देवताजस्तै मान्ने समूहले नै आज उहाँ विरुद्ध सबैभन्दा कडा प्रश्न उठाइरहेको देखिन्छ । यो परिवर्तन आकस्मिक होइन, यसका पछाडि घटनाक्रम, व्यवहार र निर्णयहरूको लामो शृङ्खला छ । यो परिवर्तन भावनात्मक होइन, क्रमिक हो । यसको जरो सहकारी ठगी प्रकरणदेखि समानुपातिक बन्द सूचीसम्म गहिरो गरी फैलिएको छ ।
सहकारी ठगी प्रकरण : कानुनी छुट, राजनीतिक चोट
सहकारी ठगी प्रकरणमा अदालतले बिगो बराबरको रकम धरौटीमा राखेर रिहा गरेपछि रवि लामिछाने कानुनी रूपमा त स्वतन्त्र हुनुभयो, तर राजनीतिक रूपमा उहाँको छविमा गहिरो चोट लाग्यो । ‘कानुनले दोषी ठहर नगरेसम्म निर्दोष’ भन्ने सिद्धान्त जति बलियो भए पनि, राजनीति केवल कानुनमा चल्दैन । राजनीतिमा नैतिकता, विश्वसनीयता र सार्वजनिक विश्वास पनि त्यत्तिकै निर्णायक हुन्छन् ।
यहीबिच भदौ २३ र २४ गतेका हिंसात्मक तथा ध्वंसात्मक घटनापछि कारागारबाट निस्कँदा देखिएको दृश्यले विवादलाई अझ चर्कायो । जेल प्रशासनले पत्र दिएको भन्दै कुनै विजेता जस्तै गाडीबाट हात हल्लाउँदै निस्कनु, तर पछि किर्ते कागजात प्रयोग गरेर छुटेको पुष्टि हुनु, र अन्ततः पुनः जेल फर्कन बाध्य हुनु-यी सबै घटनाले ‘नयाँ राजनीति’ को नैतिक आधारलाई हल्लायो ।
दौडधुप, शक्ति प्रदर्शन र उल्टो नतिजा
धरौटीमा छुटेपछि केही समय रवि लामिछानेको राजनीतिक गतिविधि असाध्यै तीव्र देखियो । जेन–जी आन्दोलन हाइज्याक गरेको आरोप खेपिरहेका सुधन गुरुङको पहलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह रास्वपामा प्रवेश गर्नु भयो ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङसँग जोडिएको ‘उज्यालो नेपाल’ ब्रान्डलाई रास्वपामा बलियो बनाउने प्रयास गरियो ।
सामान्य अवस्थामा यी घटनाले पार्टीको उचाइ बढ्नुपर्ने थियो । तर राजनीति गणित होइन, यहाँ गुणा गर्दा सधैँ नतिजा बढ्छ भन्ने हुँदैन ।
नतिजा उल्टो आयो ।
समानुपातिक सूची : जहाँ ‘नयाँ राजनीति’ नाङ्गियो
रास्वपाले प्रतिनिधिसभाको समानुपातिक बन्द सूची निर्वाचन आयोगमा बुझाउने प्रक्रियामा पुगेपछि सबैभन्दा ठुलो राजनीतिक सङ्कट सुरु भयो ।
आन्तरिक लोकतन्त्रको उदाहरण देखाउन ‘आन्तरिक मतदान’ गरियो । तर मतदानमा सर्वाधिक मत ल्याउनेहरू सूचीको पछाडि पारिए, कम मत ल्याउनेहरू अगाडि उक्लिए ।
यो केवल प्राविधिक त्रुटि थिएन, यो राजनीतिक चरित्रको परीक्षण थियो र त्यो परीक्षणमा नेतृत्व चुकेको ठहर सामाजिक सञ्जालले गरिदियो । अझ सिफारिस गरिएका नामहरूमा आफन्त, धनी व्यापारी, सेलिब्रिटी, लोकप्रिय अनुहार र पहुँचवाला व्यक्ति देखिएपछि आलोचना विस्फोटक बन्यो ।
हिजो अरू दलमाथि परिवारवाद र नातावादको आरोप लगाउने रास्वपा स्वयं त्यही आरोपको कठघरामा उभियो ।
रवि भन्छन्- ‘परिवारवादमा स्पष्ट छौँ’ : तर जनताले मानेनन्
व्यापक आलोचनापछि रवि लामिछानेले ‘परिवारवादमा स्पष्ट छौँ, विधि बाहिर जाँदैनौँ’ भन्नुभयो ।तर यो अभिव्यक्ति आलोचना साम्य पार्नुको साटो आगोमा घ्यू थप्ने साबित भयो ।सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले देखायो-अब जनताले भाषण होइन, व्यवहार हेर्छन् ।
यसबाट स्थिति साम्य होला भन्ने उहाँको आङ्कलन हुनपर्छ । तर स्थिति झन् भड्कियो । जस्तो बिउ रोपेको थियो त्यस्तै फल फल्यो । रविको सो अभिव्यक्ति पछि सामाजिक सञ्जालमा उहाँले नसोचेका कमेन्ट आए । अधिकांश कमेन्ट गर्नेहरूले लामिछानेलाई ठग र बोल्ने एउटा काम अर्कै गर्ने पात्रको रूपमा टिप्पणी गरेका छन् । ती मध्ये केही कमेन्टहरू यस्ता छन् ।
सामाजिक सञ्जालका प्रतिक्रिया : विषयगत रूपमा देखिएको जनआक्रोश
१. नियत र चरित्रमाथि प्रश्न
रमेश शर्माले लेख्नुभएको छ- ‘यो गल्ती होइन, भविष्यको सङ्केत हो। सुरुमै यस्तो नातावादी नियत राख्नेले भोलि फेरि गल्ती गर्दैन भन्ने के ग्यारेन्टी छ?’
अनन्त कुँवर लेख्नुहुन्छ- ‘सहकारी ठगीको कालो टीका लगाएको भगवानले विधिको कुरा गर्नु नै समस्या हो।’
निर्मल राईको टिप्पणी छ- ‘ठगले जनता झोक्याउन जे पनि बोल्छ।’
२. आन्तरिक लोकतन्त्र र विधिको उपहास
रूपक गिरी लेख्नुहुन्छ- ‘आफ्नै पार्टीको प्राइमरी इलेक्सनमै गडबड गर्नेले सहकारीको पैसा ठगेन भनेर कसरी पत्याउने?’
टेक अधिकारी लेख्नुहुन्छ- ‘अरूको गल्ती देखाएर आफ्नो कमजोरी लुकाउने समय अब सकियो।’
रामहरि मरहट्ठा लेख्नुहुन्छ- ‘बोली होइन, व्यवहार चाहियो।’
३. पैसा, पहुँच र सेलिब्रिटी राजनीतिप्रति आक्रोश
सरोज श्रेष्ठ लेख्नुहुन्छ- ‘नेपाल हाँसेको हेर्न चाहेको भन्दै बालेनले समानुपातिकमै व्यापारी, धनी भिनाजु, कलाकार, सुन्दरी राखेर सुरुमै हँसाए।’
पर्वत सुवेदी लेख्नुहुन्छ- ‘कतै घरबेटी, कतै आफन्त, कतै छिमेकी, कतै माफिया, कतै कलाकार… स्थापना कालदेखि लागेकाहरू सूचीमै छैनन्।’
नन्द रोक्का मगर लेख्नुहुन्छ- ‘पैसा गनेर समानुपातिक सांसद बनाउने नीति देखियो।’
४. जनविश्वास टुटेको सङ्केत
कृष्णराज पाण्डे लेख्नुहुन्छ- ‘कुलमान भनेर उफ्रने हामीलाई ४४० भोल्टको करेन्ट लगाए।’
राजेन्द्र अधिकारी लेख्नुहुन्छ- ‘संसद् भवन भित्र नाच्ने, गाउने, टिकटक बनाउने हो भने देश भाडमा जाओस्।’
गोल्डहङ राई लेख्नुहुन्छ- ‘सेलिब्रिटी र लोकप्रियतामा आधारित सूचीले समावेशिताको मर्म मारेको छ।’
कर्म र फल : राजनीति पनि अपवाद होइन
यी टिप्पणीहरू गाली मात्र होइनन्, जनविश्वास खस्किएको लिखित प्रमाण हुन् । राजनीतिमा एउटा पुरानो सत्य छ—जस्तो बीउ रोपिन्छ, त्यस्तै फल फल्छ।
रवि लामिछानेले लामो समय अरूलाई जसरी आलोचना गर्नुभयो, आज त्यो आलोचनाको प्रतिध्वनि उहाँकै वरिपरि घुमिरहेको छ ।
अन्त्यमा
यो कथा रवि लामिछाने एक व्यक्तिको मात्र होइन । यो नेपालको वैकल्पिक राजनीति, सामाजिक सञ्जालद्वारा निर्मित ‘हिरो कल्चर’ र संस्थागत लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो । यो सामाजिक सञ्जालले बनाएको वैकल्पिक राजनीतिको परीक्षा र नेपाली जनताले अब खोज्न थालेको उत्तरदायित्वको कथा हो ।
देवत्वको छविबाट सुरु भएको यात्रा आज अविश्वासको कठघरामा पुगेको छ । अब प्रश्न यो होइन कि रवि लामिछानेमाथि कति आलोचना भयो । प्रश्न यो हो-रास्वपा र यसको नेतृत्वले यो आलोचनाबाट आत्मसमीक्षा गर्छ कि फेरि आलोचकलाई दोषारोपण गरेर अगाडि बढ्छ ?
आज सामाजिक सञ्जालले दिएको फैसला स्पष्ट छ- देवता बनाउने काम जनताले गर्छन्, तर देवत्व खोस्ने काम पनि जनताले नै गर्छन् ।
भावनाले बनेको राजनीति दीर्घकालीन हुँदैन
अब जनताले देवता होइन, जवाफदेही नेता खोजिरहेका छन् । अब नाराभन्दा विधि, भाषणभन्दा व्यवहार र लोकप्रियताभन्दा पारदर्शिता चाहिएको छ ।
रवि लामिछाने र रास्वपाका लागि यो क्षण पतन मात्र होइन, चेतावनी पनि हो । यदि यसलाई आत्मसमीक्षाको अवसर बनाइएन भने,
आज सामाजिक सञ्जालमा देखिएको आक्रोश भोलि राजनीतिक इतिहासमा फैसला बन्नेछ ।
किनकि इतिहासले बारम्बार प्रमाणित गरेको छ- आलोचना नसुन्ने नेतृत्व अन्ततः आलोचनाले नै ढालिन्छ।













प्रतिक्रिया दिनुहोस्