रामेछाप, पुस १७ । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एथलेटिक्स विधातर्फ सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
माध्यमिक विद्यालयका खेलकुद शिक्षक तथा वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधिहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रम एक हप्तासम्म चल्ने छ । कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रमले स्थानीय खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण प्रविधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ। प्रशिक्षण बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सैद्धान्तिक कक्षा र दिउँसो २ बजेदेखि ४ बजेसम्म व्यवहारिक अभ्यासका रूपमा सञ्चालन हुनेछ।
उक्त प्रशिक्षणमा सात जना खेलकुद शिक्षकसहित १५ जनाको सहभागिता रहेको छ। प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरका अनुभवी प्रशिक्षक धनिराम चौधारीले सञ्चालन गर्नुहुने आयोजकले जनाएको छ।
यस किसिमका प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद गतिविधि थप प्रभावकारी र सुदृढ बनाउँदै प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रशिक्षार्थीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।













प्रतिक्रिया दिनुहोस्