जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १०:११

टिपेको एक वर्षसम्म पनि नकुहिने स्याउको बिक्रि शुरु


काठमाडौं, मंसिर १६

दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ ।

कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो । ‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ । वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म सो स्याउ उत्पादन गर्न विशेष अनुमति दिइएको छ । उक्त स्याउको विकास कार्यक्रमको सह–नेतृत्वकर्ता केट इभान्सले भनिन्, ‘यो कुरकुरे स्याउ हो र यो अन्य प्रकारका स्याउभन्दा दह्रो पनि छ, यसमा गुलियो र अमिलो ठिक्क मिलेको छ र यो असाध्यै रसिलो छ ।’

उनले सो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य अवस्थामा रहने बताइन् । अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन् । यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन् ।

यो जातको स्याउलाई पहिले डब्ल्यूए ३८ भनिए पनि यसको गाढा रातो बोक्रामा ससाना सेता थोप्लाहरू भएका कारण यसलाई कस्मिक क्रिस्प नाम दिइएको हो । वाशिङ्टन अमेरिकी बजारमा सबैभन्दा धेरै स्याउ पठाउने राज्य हो तर यसको सबैभन्दा प्रसिद्ध गोल्डेन डेलिसिअस र रेड डेलिसिअस जातलाई पिङ्क लेडी र रोयल गाला जातले कडा टक्कर दिने गरेका छन् । अमेरिकामा केरापछि सबैभन्दा बढी बिक्री हुने फल स्याउ हो । उक्त प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको समाचारहरूमा जनाइएको छ । (बिबिसी)