जनता टाइम्स

१७ पुष २०८२, बिहीबार २१:४०

पकरबास–गोगनपानी–गाल्पा सडकको काम पुनः सुरु, निर्माणकार्य अझै धिमा


रामेछाप, पुस १७ । निर्माण व्यवसायीले लामो समयसम्म अलपत्र पारेको रामेछापको खाँडादेवी गाउँपालिकाअन्तर्गत पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माण कार्य पुनः सुरु भएको छ। तर, कामको गति भने अपेक्षाअनुसार तीव्र हुन सकेको छैन।

कूल १० किलोमिटर लामो उक्त सडक कालोपत्रे गर्ने जिम्मा दिवार ओमबुद्ध/अर्याल कन्स्ट्रक्सनले ४३ करोड रुपैयाँमा लिएको थियो। १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ सालमा ठेक्का सम्झौता भए पनि सडक निर्माण चार वर्षदेखि अलपत्र अवस्थामा थियो।

सडकको काम समयमा अघि नबढेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले यसअघि जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमा तालाबन्दीसमेत गरेका थिए। पटक–पटक निर्माण व्यवसायीले काम अघि बढाउने सहमति जनाए पनि ठोस प्रगति हुन सकेको थिएन।

हाल पकरबासदेखि खाँडादेवी गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्रे (पिच) गर्न सुरु गरिएको छ। तर गाउँपालिका कार्यालयदेखि गाल्पासम्मको खण्डमा फाउन्डेसनको केही काम भए पनि निर्माण कार्य अत्यन्तै धिमा गतिमा भइरहेको स्थानीयले बताएका छन्।

यस्तै, ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडक खण्डको अवस्था पनि उस्तै छ। उक्त सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा रौताहार–सगुनर–पाँच पोखरी कन्स्ट्रक्सनले लिएको थियो। १८ महिनाभित्र सम्पन्न गर्ने गरी एकै समयमा ठेक्का सम्झौता भए पनि सो सडकको कामसमेत अहिलेसम्म सम्पन्न हुन सकेको छैन।

स्थानीयवासीले दुवै सडक समयमै सम्पन्न गराउन सम्बन्धित निकायले निर्माण व्यवसायीलाई कडा अनुगमन र दबाब दिनुपर्ने माग गरेका छन्।