जनता टाइम्स

१८ पुष २०८२, शुक्रबार १४:०२

‘मुख्यमन्त्री बानियाँले सरकारी निवासको खर्चदेखि इन्धन खर्चसमेत निजी स्रोतबाट व्यहोर्दै, सचिवालयले भ्रमण भत्ता समेत नलिई काम गर्दै’ : सचिवालय


हेटौँडा, पुस १८ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हालै सिराहा र सिन्धुपाल्चोकमा सहभागी हुनुभएको कार्यक्रममा प्रयोग गरिएको हेलिकप्टर यात्रा निजी खर्चमै गरिएको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ ।

मुख्यमन्त्रीको निजी सचिवालयद्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी कोषको दुरुपयोग नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, मुख्यमन्त्री नियुक्त भएलगत्तै उहाँले प्रदेश सरकारको खर्च कटौती गर्दै मितव्ययिता र पारदर्शितालाई प्राथमिकता दिँदै आउनुभएको छ ।

विज्ञप्तिअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो सरकारी निवासको खर्चदेखि सवारी साधनको इन्धन खर्चसमेत निजी स्रोतबाट व्यहोर्दै आउनुभएको छ । साथै, उहाँको सचिवालयले हालसम्म भ्रमण भत्ता समेत नलिई काम गरिरहेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री बानियाँले आफूलाई सुविधा बापत प्राप्त हुने रकमबाट विपन्न परिवारका लागि घर निर्माण गरिदिने घोषणा अनुसार मनहरी र कैलाश गाउँपालिकामा दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरण गरिसक्नुभएको छ भने राक्सिराङ गाउँपालिकामा एक विपन्न परिवारको घर निर्माण कार्य जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीका यस्ता सकारात्मक कार्यलाई ओझेलमा पार्ने उद्देश्यले केही व्यक्ति तथा समूह सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग गर्दै निरन्तर नकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । सोही क्रममा बिहीबार सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गर्नुभएको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँले हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर भ्रम फैलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, मुख्यमन्त्री बानियाँ सोही दिन सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित छैटौँ जलवायु सम्मेलनमा सहभागी भई सिराहामा आयोजित पार्टी कार्यक्रमका लागि जानुभएको थियो । सडक मार्गबाट समयमै पुग्न असम्भव भएकाले बाध्यात्मक अवस्थामा निजी खर्चमै हेलिकप्टर प्रयोग गरिएको र उक्त यात्रामा कुनै पनि सरकारी कोष खर्च नभएको स्पष्ट पारिएको छ ।

प्रदेश सरकारले वास्तविकता नबुझी सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत भ्रमपूर्ण सूचना फैलाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, यस्ता भ्रम फैलाउने कार्य साइबर अपराधको दायरामा पर्न सक्ने भन्दै गलत सामग्री सम्प्रेषण नगर्न सबैलाई आग्रह गरिएको छ ।

सञ्चार माध्यमहरूलाई पनि सत्य–तथ्यको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै प्रदेश सरकारले सकारात्मक सद्भाव र शुभेच्छा राख्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।